भरतपुर महानगरको छुवाछुतमुक्त अभियान, अन्तरजातिय विवाह गर्ने दुई जोडी सम्मानित

एटुजेड समाचार

चितवन – भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक जातिय विभेद अन्त्यका लागि छुवाछुत मुक्त अभियान सुरु गरेको छ । विकास र निर्माणमा मुलुकभित्रै फरक पहिचान स्थापित गरेको महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ती छुवाछुत मुक्त अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिईन्।

‘समाजमा अझै पनि विभेद छ, मेयर दाहालले भनिन्, अब नीतिगत रुपमा सुरु भएको छुवाछुत मुक्त अभियानले जातिय छुवाछुत र विभेद अन्त्य गर्न विशेष योगदान गर्छ।’ महानगरको दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिको आयोजनामा एक औपचारिक कार्यक्रम गर्दै मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिका संयोजक चक्र रुचालले अन्तरजातिय विवाह गर्ने दुई दम्पतीलाई एक–एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको सुरुवात गरेका छन् ।

सो अवसरमा भरतपुर २७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर ६ का दिपक बुढाथोकी, निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरेको समिति संयोजक रुचालले जानकारी गराए । छुवाछूत मुक्त अभियान अन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहन स्वरुप सो रकम सहयोग गरिएको संयोजक रुचालले बताए । यस्तै उपमेयर पार्वती शाहले जातिय विभेद र छुवाछुत रहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरगं ल्याउने विश्वास व्यक्त गरिन् ।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले ६ वर्ष प्रेम सम्बन्धपछि विवाह गरेका थिए । सो अवसरमा प्रतिमा गुरुङ सुनारले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउदैं खुसी व्यक्त गरिन् । उनले बोलेर भन्दा पनि महानगर कामै गरेर अभियान थालेकोमा यसलाई निरन्तरता दिन माग गरिन् । तनहुँ व्यास नगरपालिका वडा नं १ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसंग अन्तरजातिय विवाह गरेका थिए ।

यस्तै अर्का दम्पती दिपक बुढाथोकी र निशा परियार बुढाथोकीले ४ वर्षको प्रेम सम्बन्ध पछि विवाह गरेको बताउदै समाजसँगै स्थानीय सरकारको अभियानले सार्थकता पाउने भन्दै खुसी व्यक्त गरिन् । कक्षा ५ सम्म बढेका दिपक सवारी चालक हुन् भने उनको श्रीमती कक्षा ११ मा पढ्दै छिन् । निशाले महानगरको अभियान अब गाँउ गाँउमा पु¥याउन आवश्यक रहेको बताईन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु