अस्मिता पराजुली,
चितवन – आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस चितवन लगायत देशैभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाईदै आईरहेको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।
नेपालमा नारी दिवसका अवसरमा सरकारले सार्बजनिक विदा दिने गरेको छ। महिलाको हक, अधिकारको लागि बर्षेनी नारी दिवस मनाईदै आएता पनि देशभर लगायत चितवनमा पनि महिला हिंसाका घटनामा कमी आएको पाईदैन ।
जिल्ला प्रहरी कार्यालय , चितवनको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७७ – ७८ को हालसम्म मात्रै ११६ वटा महिला हिंसाका घटना उजुरी परेका छन्। गत आर्थिक बर्ष २०७६ – ७७ मा १०९ ओटा महिला हिंसाका घटना दर्ता भएको थियो । यसले महिला हिंसाको घटना बढेको पुष्टि गर्दछ । हुनत नारी शशक्तिकरणका लागि खुलिएका संस्थाहरुले पनि उनीहरुका लागि आवाज उठाउंँदै आएपनि उपलब्धि भने न्यून देखिन्छ ।
प्रहरी कार्यालय चितवनका अनुसार टोल छिमेक झै– झगडा, सामाजिक संजाल, सार्बजनिक यातायात जस्ता हिंसाका १६७ उजुरी परेकोमा १६४ ओटा मिलापत्र भएको छ । गत आर्थिक बर्षमा भने १२३ उजुरी परेकोमा ११३ नै मिलापत्र भएको थियो ।
महिलाहरु घर, परिवार, छरछिमेक इस्टमित्र, साथीभाई सार्बजनिक स्थल कार्यक्षेत्र लगायत विभिन्न ठाउँ र विभिन्न तरिकाबाट शारीरिक, मानसिक, आर्थिक, यौनदुव्र्यवहार लगायतका हिंसामा परिरहेको महिला अधिकारकर्मीले बताउंँदै आएका छन ।
प्रहरीको तथ्यांक केलाउने हो भनेपनि चालु आवमा ११६ वटा महिला हिंसाका उजुरी परेकोमा सबै भन्दा धेरै घरेलु हिंसाका घटना रहेका छन् । घरेलु हिंसामा कुटपिट, खानलाउन नदिने, गाली बेइज्जती जस्ता घटना बढ्दै गएको प्रहरीको भनाई छ ।
यसमध्य पनि ६१ वटा घरेलु हिंसा, ३४ जबरजस्तीकरण ५ जबरजस्तीकरणी उधोग, ११ बहुविवाह र ५ बाल यौन दुराचारका घटनाको उजुरी परेको थियो। घरेलु हिंसाका ६१ घटनामा ६० घटना मिलापत्र भएको छ भने १ ओटा मिलापत्र हुन बांँकी रहेको तथ्यांक छ । अन्य हिंसाका घटना भने मुद्दा दर्ता भई प्रक्रिया अगाडी बढेको कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार न्युन आर्थिक अवस्था, देखि सम्पन्न परिवार, सामान्य देखि शिक्षीत सबै बर्गका घरमा महिला हिंसा तथा घरेलु हिंसाका घटनाले विकराल रुप लिदै गएको छ । सामाजिक, आर्थिक, पारिवारिक असहमति लगायतका कारण समाजमा महिला हिंसा बढ्दै गएको थापाको भनाई छ । आफूमाथि हिंसा भएमा महिला आँफैमा सचेत हुने र प्रहरी लगायत अन्य सामाजिक संस्थामा उजुरी गर्न नडराएमा महिला हिंसा न्यूनिकरण हुने उनले बताए ।
अझैपनि समाजमा महिलाहरु दाइजो कम ल्याएको निहुँमा, छोरीछोरी मात्र जन्माएको निहुँमा, सन्तान नजन्मिएकोमा सबै दोष महिला माथि थोपरिने प्रवृत्तिका कारण पनि महिला हिंसामा कमी नआएको बताउंँछिन अधिवक्ता फूलमाया रानाभाट ।
पुरुषवादी सोच, चिन्तन र सामाजिक संरचनाका कारण महिलालाई गालीगलौज गर्ने, चारित्रिक आरोप लगाउने, अपशब्द प्रयोग गर्ने, जर्बजस्त बलात्कार गर्ने जस्ता हर्कतले पनि महिला हिंसामा कमी नआएको रानाभाटको बुझाई छ ।
‘अब महिला हिंसा न्यूनिकरणको लागि महिला आफैं सचेत हुनुपर्छ उनले भनिन्न। बर्षमा एकदिन नारी दिवस मनाएर मात्र महिलाले उन्मुत्ति पाउंँदैनन्न । यसका लागि ठोस कदम चाल्न सक्नु पर्दछ । कानुन कार्यान्वयनमा तदाबरुपता हुनु जरुरी छ ।’ नेपालमा महिलामैत्री कानुन बनेपनि व्यवहारमा कार्यान्वयन नहुंँदा पनि यस्तो समस्या बढ्ने गरेको उनले बताईन्न । महिला हिंसा न्युनिकरणको लागि महिलाहरु सचेत रहने, आत्मनिर्भर हुने, शिक्षित हुने, आर्थिक रुपमा सबल हिंसाको प्रतिकार गर्न सकेमात्र क्रमश महिला हिंसा न्यूनिकरण हुदै जाने उनको तर्क छ ।


