अस्मिता पराजुली,
चितवन – परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर खेती नेपालको हिमाल, पहाड र तराईमा लगाइन्छ । बिशेषगरी नेपालको हिमाली भेगमा फापर खेती बढी मात्रामा हुने गर्छ । रैथाने अन्नबालीमा समावेश फापर चितवनमा कात्तिक, मंसिर महिनामा लगाईदै आएको छ । तर पछिल्ला वर्षहरुमा चितवनमा यसको उत्पादन भने घट्दै गएको पाईएको छ ।
यसको बजार र माग नहुंँदा यस खेतीतर्फ आकर्षण कम हुदै गएको र तरकारी तथा फलफूल तर्फ आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर आर्थिक बर्ष २०७४ – ७५ मा १ हजार ५९० हेक्टर क्षेत्रफलमा १ हजार ५९० मेट्रिक टन फापर उत्पादन भएको थियो । अघिल्लो आव २०७५ –७६ मा १ हजार ५०० हेक्टर क्षेत्रफलमा १ हजार ४०२ मेट्रीकटनको हाराहारीमा उत्पादन भएको ज्ञानकेन्द्रको तथ्यांक छ ।
२०७६ – ७७ मा सोही क्षेत्रफलमा १ हजार ४०२ मेट्रिकटन फापर उत्पादन भएको थियो । यो चालु आर्थिक बर्षमा भने फापर खेतीको क्षेत्रफल संगै उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र भरतपुरकी सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिईन् ।
जिल्लामा प्रति हेक्टर ० दशमलब ९३ प्रतिशत देखि १ मेट्रिक टन फापर उत्पादन हुने गर्दछ । विगतका बर्षहरुको तथ्याङ्क अनुसार फापर खेती घटिरहेकोले यो बर्ष पनि घट्ने अनुमान गरिएको अधिकारी त्रिपाठीले जानकारी दिइन् ।
सरकारले फापर खेतीलाई मुख्य खाद्यान्न बालीको रुपमा प्रवद्र्धन गर्न नसकेको कारण पनि यसको उत्पादन घट्दै गएको उनको भनाई छ । ‘ किसानहरु अन्य बाली तथा तरकारी खेतीबाट आम्दानी बढी हुने खेती गर्न थालेपछि फापर खेती घट्दै गएको हो उनले भनिन्, किसानहरुले फापर खेतीलाई अरु बालीलाई जस्तो महत्व दिदैनन ।’ उनले भनिन्,
सरकारले रैथाने अन्नबाली संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यक्रम समय समयमा ल्याउने, फापर खेतीको लागि अरु बालीलाई जसरी पकेट एरिया तोक्ने र यसको बजारको अध्ययनको साथसाथै प्रशोधन गरेर देश तथा विदेश पठाउन सके यसको संरक्षण र प्रर्वद्धन हुने उनको तर्क छ ।
फापर रोटी वा ढिडो खाद्यान्नमा प्रयोग गरिन्छ । खासगरी मधुमेह रोगी र वर्त लिएको मानिसले शुद्ध खानाको रुपमा प्रयोग गरिन्छ । यो परिकार सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुँदा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन मदत गर्ने स्वास्थ्य कर्मीले बताउंँदै आएका छन् । चितवनमा भने तिते भन्दा मिठे फापर नै लगाइने गरिएको छ ।
फाईल तस्विर


