अस्मिता पराजुली,
चितवन – चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट घाइते भएका तथा मृतकका परिवारलाई ८५ लाख बढी राहत वितरण गरेको छ। निकुञ्जले चालु आर्थिक बर्ष २०७७ – ७८ को अर्धवार्षिकको अवधिमा ८५ लाख ५७ हजार ७८३ रुपैयाँ राहत वितरण गरेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ६ जना, घाईते भएका १२ जनालाई राहत वितरण गरिएको हो । यस्तै निकुञ्जले वन्यजन्तुले अन्नबाली नष्ट गरेकाहरुलाई पनि राहत वितरण गरेको छ ।
निकुञ्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई १० – १० लाखको दरले राहत उपलब्ध गराउदै आएको छ । जसअनुसार बाघको आक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका वडा नम्बर १३ सिमलगैरीका ६० वर्षीय बाबुराम महत्तो, भरतपुर १३ सिमलगैरीकै ६३ वर्षीय जन्हु महत्तो र रत्ननगर नगरपालिका वडा नम्बर ६ बछौलीका ५५ वर्षीय बबना चौधरीको परिवारलाई निकुञ्जले १०-१० लाखको दरले ३० लाख राहत गराएको छ ।
यस्तै गैंडाको आक्रमणबाट मृत्यु भएका नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ का ६५ वर्षिय जंगिलाल मुखिया, हात्तीको आक्रमणबाट मृत्यु भएका रौतहट चन्द्रपुर गैंडाटार घर भई हाल रत्ननगर ६ बस्दै आएका ३६ बर्षीय हंसराज कुँवर र राप्ती नगरपालिका १ का ५० वर्षिय आईतबहादुर चेपाङको परिवारलाई पनि १० लाखको दरले ३० लाख राहत वितरण गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । गैंडाको आक्रमणबाट मृत्यु भएकी रत्ननगर नगरपालिका ७ की ४० वर्षीया सिता तमाङको भने राहत वितरणको प्रकृयामा रहेको निकुन्जले जनाएको छ ।
निकुन्जले वन्यजन्तुको आक्रमणबाट घाईते भएका १२ जनालाई ४ लाख ७६ हजार ८ सय ३३ रुपैया राहत वितरण गरेको छ ।
यस्तै निकुन्जले वन्यजन्तुको आक्रमणबाट खेती तथा अन्नबालिमा क्षती पुर्याएकालाई २० लाख ८० हजार ९ सय ५० रुपैया राहत वितरण गरेको छ ।
निकुन्जले गत आर्थिक बर्ष ७६ – ७७ मा बन्यजन्तुको आक्रमणबाट क्षती पुगेका परिवारलाई १ करोड ६० लाख ९० हजार २ सय ४५ रुपैयाँ राहत वितरण गरेको थियो ।
राहतको प्रकृया
बन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा मृतकको परिवारले ३५ दिन भित्र राहतको निबेदन दर्ता गराई आवश्यक कागजात पुर्याएपछी निकुन्जले राहात वितरण गर्ने निकुन्जका सुचना अधिकारी लोकेन्द्र अधिकारिले बताए ।
त्यस्तै बन्यजन्तुको आक्रमणबाट घाइते भएमा परिवारले अस्पतालको कागजातसहित ३५ दिनभित्र राहतको निबेदन दर्ता गरेपछि राहत उपलब्ध गराइने उनले बताए । सामान्य घाइते भएमा २० हजार र गम्भिर घाईते भए २ लाखसम्म निकुन्जले उपलब्ध गराउनेछ । शरिर अङ्गभङ्ग वा २ लाख भन्दा बढी लागेमा सरकारले थप राहत उपलब्ध गराउने उनले जानाकरी दिए ।
अन्नबालीको हकमा भने क्षती अनुसार निकुन्जले राहात वितरण गर्ने गरेको अधिकारीले बताए ।


