चितवनमा वन्यजन्तुको आक्रमण : ४ महिनामा ६ जनाको मृत्यु

अस्मिता पराजुली,

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक बर्ष २०७७ – ७८ को मंसिर पहिलो सातासम्म वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्‍यु भएको छ ।

उनिहरु मध्य ३ जनाको बाघको आक्रमणबाट मृत्‍यु भएको छ भने २ जनाको हात्ती र एक जनाको गैंडाको आक्रमणबाट मृत्‍यु भएको हो । मृतक ६ जना नै पुरुष हुन् ।

चालु आर्थिक वर्षको भदौँमा बन्यजन्तुको आक्रमणबाट एक वृद्धको मृत्‍यु भएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १३ सिमलगैरीका ६० वर्षीय बाबुराम महत्तोको बाघको आक्रमणबाट मृत्‍यु भएको हो । भदौँ २२ गते जङ्गलमा घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।

असोज १० गते भरतपुर १३ सिमलगैरीकाका ६३ वर्षीय जन्हु महत्तो र असोज १२ गते रत्ननगर नगरपालिका वडा नम्बर ६ बछौलीका ५५ वर्षीय बबना चौधरीकोको बाघको आक्रमणबाट नै ज्यान गएको थियो । उनिहरु दुबै जनालाई वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो ।

उता कत्तिक १६ गते नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १७ का ६५ वर्षिय जंगिलाल मुखियाको गैंडाको आक्रमणबाट मृत्‍यु भएको थियो । त्यसको एक सातापछि कात्तिक २२ गते रौतहट चन्द्रपुर गैंडाटार घर भई हाल रत्ननगर ६ बस्दै आएका ३६ बर्षीय हंसराज कुँवरलाई पालुवा हात्तीको आक्रमणबाट गर्दा मृत्‍यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै आईतवार मात्रै राप्ती नगरपालिका १ का ५० वर्षिय आईत बहादुर चेपाङको जंगलभित्र घाँस काट्ने क्रममा जंगली हात्तिले आक्रमण गर्दा मृत्यु भएको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकको तथ्याङ्क हेर्दा तुलनात्मक रुपमा बन्यजन्तुको आक्रमणबाट मृत्‍यु हुने दर बढेको देखिने निकुञ्ज प्रशासनको भनाई छ ।

चालु आर्थिक वर्षमा बन्यजन्तुको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण गर्ने प्रकृया चलिरहेको बताइएको छ ।

गत आर्थिक वर्ष ७६ – ७७ मा बन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्‍यु भएको थियो भने ३४ जना घाईते भएका छन् । तर चालु आवको पहिलो चौमासिकमा नै ६ जनाको मृत्‍यु भइसकेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँस दाउरा काट्न तथा माछा मार्न मानिसहरु जङ्गल पस्दा बन्य जन्तुसँग जम्काभेट भइ यस्ता घटना हुने गरेको बताए । वन्यजन्तु भौतारिएर र राम्रो आहाराको खोजीमा हिंड्ने र मानिसहरु पनि जङ्गल पस्ने क्रम बढ्दा यस्ता घटनाको जोखिम हुने उनको भनाई छ ।

उनले बन्यजन्तुको आक्रमण रोक्नको लागि निकुञ्जमा बाँस स्थान, घासे मैदान, प्रसस्त पानीको व्यवस्था, काडे तार, मेसजाली लगाइएको बताए । तर मानिसहरु अनेक बहानामा जङ्गल पस्ने गर्दा घटना न्युनिकरणमा समस्या भएको उनको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु