अस्मिता पराजुली, चितवन – नेपालभर लोडसेडिङमुक्त भएको झण्डै दुईवर्ष बितिसकेको छ । यसअघि दैनिक १८ घण्टा अध्यारोमा बस्न बाध्य सेवाग्राहीहरु लोडसेडिङ मुक्त भएसंँगै सहजको महसुस गरेका थिए । तर भरतपुरमा बिशेषगरी गर्मीको समयमा पटक पटक लाईन काटिदा उनीहरु हैरानी व्यहोर्न बाध्य छन् ।
गृहणी देखि साना, ठूला उद्योग व्यवसायमा यसले प्रत्यक्ष असर पारेको छ । पछिल्लो समय भरतपुर विद्युत वितरण केन्द्रबाट वितरण भएका लाइनहरुमा पनि पटक पटक विद्युत लाइन काटिने समस्या बढ्दै गएको छ । बिशेष परिस्थिति बाहेक अन्य समयमा नियमित विद्युत आपुर्ति भएपनि गर्मी याममा पटक पटक आपूर्ति रोकिँदा सेवाग्राही मारमा परेका हुन् ।
विगतका बर्षहरु हिउंँदमा जलविद्युत उत्पादन केन्द्रमा पानीको तह घटेर उत्पादन घट्ने गरेपनि बर्षायाममा विद्युत उत्पादनमा समेत कमी नआएको भरतपुर विद्युत वितरण केन्द्रका कर्मचारी बताउंँछन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकका सफल कम्युनिकेसन एण्ड मल्टी सर्भिस सेन्टर सन्चालन गर्दै चन्द्र प्रकाश चापागाई विना सुचना पटक पटक बिजुली आउने र जाने हुँदा दिक्क पारेको बताउंँछन् । ‘काम गर्न लाग्यो बत्ती झ्याप्प जान्छ, । सूचना दिएर गए त हामी त्यही अनुसार म्यानेज गथ्र्यौ नी।’ उनले दुखेसो पोखे । पटक पटक बिद्युत आपूर्ति बन्द हुंँदा आफ्ना विद्युतीय सामानसमेत विग्रने गरेको उनले बताए ।
भरतपुरवासीको लागि यो समस्या हिजोआज साझा समस्या बन्न गएको छ । गृहणी, विद्यार्थी, व्यवसायिक प्रतिष्ठान, कतिपय सरकारी कार्यालयहरुमा समेत यसले कार्यक्षमतामा हस पारेको छ । यस्तै पेयपदार्थ, दुग्धउद्योग तथा यस्ता पसलहरुमा समेत विद्युत आपुर्ति नियमित नहुंँदा त्यस्ता बस्तुहरु विग्रने गरेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा आईसक्रिम तथा तरकारी पसल सन्चालन गर्दै आएका पुरुषोत्तम न्यौपानेको गुनासो पनि उस्तै छ । ‘दुध, दही, आइसक्रिम, जुसहरु फ्रिजमा राख्यो, कतिखेर विजुली जान्छ थाहा हुन्न, उनले भने, यसले गर्दा फाइदा भन्दा बढी नोक्सान भो ।’
लोडसेडिङको समयमा अधिकांश घर, पसल, उद्योग व्यवसायमा वैकल्पिक उर्जा तथा इन्भटर राख्ने गरिन्थ्यो । तर लोडसेडिङ मुक्त भएसँगै व्याकअपको लागि ती सामानहरु प्रयोगमा कमी आएको छ । हप्तौ अघिदेखि भरतपुरमा दिनमै २५ औं पटकभन्दा बढी विद्युत आपूर्ति अबरुद्ध हुने गरेको छ । यसबाट घरमा बस्ने गृहणी, अनलाइन पढ्ने विद्यार्थी समेत प्रभावित छन् ।
भरतपुर महानगरपालिका ११ बिशाल चोककी निता पौडेलले हाल कोरोना भाईरसको महामारीको समयमा सबै सदस्य घर मै रहने हुदा त्यसमा पनि गर्मीको समयमा पटक पटक बत्ती जाँदा निकै सास्ती भोग्नु परेको बताइन् ।‘अहिले स्कुल सुरु भाछैन्, बच्चाहरु घरबाटनै पढ्छन, इक्जाम दिन्छन् , उनले भनिन्, खाना पकाउंँदा पनि लाइन जान्छ , पढ्न लाग्दा पनि लाइन जान्छ बरु नियमित लाइन गइदिएत आफ्नो सुर गर्नुहुन्थ्यो नि!’
तर यो समस्या बर्षौदेखिको समस्या भएपनि वितरण केन्द्रका कर्मचारीले भने दिर्घकालिन रुपमा समस्या समाधान गर्न सकेका छैनन् । क्षमताभन्दा बढी बिद्युत खपत हुंँदा यस्तो समस्या निम्तने गरेको उनीहरुको जवाफ छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले गर्मी बढे सगै विद्युत खपत बढ्दा यस्तो समस्या आउने गरेको बताउंँछन् । ‘बर्षेनी ग्राहक र खपत बढ्दै गएको छ, उनले भने, त्यसको तुलनामा क्षमता र सिष्टममा सुधार हुन सकेको छैन ।’
उनका अनुसार बिद्युत प्रसारण लाइन मर्मत गर्दा लाइन काटिने गरेको भएपनि पटक पटक लाइन जानु सिष्टममा आएको गढबढीले हो । सेवाग्राहीले पिकआवरको समयमा अत्यावश्यक विद्युतका सामाग्री प्रयोग मात्र गर्ने बानी राखे यस्तो समस्या नआउने उनको भनाई छ ।
बिद्युतका तार र पोलहरु सार्ने र मर्मत कार्य हुने स्थानहरुमा पहिलेनै वितरण केन्द्रले सूचना जारी गर्दै आएको तर अघोषित लोडसेडिङको अर्को कारण फ्यूज जाने समस्या र कमजोर तथा पुराना ट्रान्समिटरका कारण पनि हुने गरेको महतोको तर्क छ ।


