वृद्धवृद्धाको सारथी बन्दै भरतपुरको जेष्ठ नागरिक मिलन केन्द्र

अस्मिता पराजुली, चितवन – बढ्दो शहरीकरण विकास संँगै विभिन्न पेशा व्यवसायका कारण मानिसहरु दिनप्रतिदिन व्यस्त हुन थालेका छन् । तर गाउँघरमा जस्तो शहरका वृद्धवृद्धाहरुको लागि समय विताउने आफू सरहका साथी, चौतारा, चौर, मठ-मन्दिर प्रशस्त भेटिदैन । आफ्नो दुःख सुख सुनिदिने शहरमा प्रायः कोही नभेटिदा शहरी क्षेत्रका वृद्धवृद्धाहरुमा निराशा छाउनु स्वभाविकनै हो ।

आफ्नै परिवारमा पनि उनीहरुको मनोभावना बुझ्ने भेट्न मुश्किलनै पर्छ । जसका कारण उनीहरुलाई दिनभर घर रुघेर बस्न र दिन काट्ने कुराले दिनहुंँ पिरोल्ने गरेको छ नै  तर पछिल्लो समय बृद्धाबृद्धाहरुको साथी र साहरा बनेको छ नारायणी नदी किनार छेवैमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र ।

उक्त मिलन केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर २ नारायणी सामाजिक विकास समिति र हरिहर मन्दिरको संयुक्त पहलमा स्थापना भएको हो ।२०७५ साल चैत ८ गते देखि स्थापना भएको सो जेष्ठ नागरिक मिलन केन्द्रमा दैनिक ३० देखि ४० जना वृद्धृवृद्धाहरु आपसमा आफ्ना दुःख सुख साट्ने गर्दछन् । उक्त मिलन केन्द्रमा आउने वृद्धवृद्धाहरुका निम्ति संगीतका सामाग्रीको व्यवस्था समेत गरिएको छ ।

जसको प्रयोग गरी उनीहरु दिनभर भजन किर्तन , नाच्न तथा बाद्यवादनमा व्यस्त हुने गरेका छन् । घरमा एक्लोपनका कारण बिरामीजस्तै हुने गरेको तर यहाँ आउँदा मन आनन्दित भई पीडा भूल्न आउने उनीहरु बताउँछन् ।

मिलन केन्द्रमा नियमित आउने गरेकी भरतपुर महानगरपालिका वडा नम्वर ३ की ६१ वर्षीय माया देवी जोशीले घरमा बस्दा मनमा अनेक तर्कना खेल्ने र मन भारी हुने गरेको तर केन्द्रमा आउन थालेपछि स्वर्गीय आनन्द पाएको बताउनुभयो । मिलन केन्द्रले एक्लोपनको महसुस हुन नदिँदा खुशी लाग्ने गरेको तर आफु राम्रोसंग आँखा नदेख्ने हुँदा यातायातको समेत व्यवस्था भईदिए सुनमा सु्गन्ध हुने उहांँको गुनासो छ ।

Forbes

भरतपुर महानगरपालिका वडा नम्वर ३ कि ७१ वर्षीय तुलसा न्यौपानेका श्रीमानले अर्को विवाह गरेका कारण एक्लोपन भएको र छोराबुहारी व्यापारमा व्यस्त रहँदा अहिले एकमात्र सहारा मिलन केन्द्र बनेकोे बताउनुभयो । ‘बुढेसकालको सहारा श्रीमान भएतापनि श्रीमानको साथ नपाउँदा दु:ख लाग्ने गरेको  छ तर आजभोलि मिलनकेन्द्रमा आई भलाकुसारी गर्न पाउँदा दैनिकी सहज बनेको  उहाँले सुनाउनुभयो ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्वर २ का ६९ वर्षीय जयलाल काफ्लेले दिउँसो १२ बजे देखी ४ बजेसम्म दिनहुँ मिलन केन्द्र आउने गरेको बताउनुहुन्छ । उहाँका छोराछोरी विदेशमा छन् घर मा बसिरहदा दिन बिताउन कठिन हुने तर केन्द्रमा आएपछी ज्ञानगुनका कुरा सिक्न पाउने, आफ्नो उमेर सरहका साथीहरु संँगं भेट्न पाउने, भजन किर्तन गर्दा समय कटाउन सहज हुने हुँदा नियमित केन्द्र आउने गरेको उहांँको अनुभव छ ।

मिलन केन्द्रमा वृद्धवृद्धाहरु हरेक दिन १२ बजे देखि ५ बजे सम्म ज्ञानका कुरा सुन्दै तथा नाचगान गर्दै समय बिताउने गरेका छन ।
नारायणी विकास समितिकी अध्यक्ष माला पियाले पछिल्लो समय प्रायजसो वैदेशिक रोजगारीका कारण अभिभावक र सन्तानबीच भौगोलिक दुरी कायम हुनुका साथै संगै भएका छोराछोरी पनि आ – आफ्नै पेशामा व्यस्त हुने हुँदा वृद्धवृद्धामा निराशा छाउने गरेको बताउनुहुन्छ ।

वृद्धवृद्धाहरुको निराशा हटाउने उद्देश्यले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रलाल प्रधानको अग्रसरतामा उक्त केन्द्र स्थापना गरेको उहाँले जानकारी दिनुभयो । भजन किर्तन सुनेर उनीहरु खुशी हुनु नै संस्थाको लागि ठुलो खुशी भएको पियाले बताउनुभयो । उहाँका अनुसार वृद्धवृद्धाहरुका लागि , समयअनुसार चिया बिस्कुट , खीर हलुवा जस्ता खाजाको निशुल्क व्यवस्था गरेको छ । हाल दैनिक खाजामा करिब १५ सय खर्च हुने उहाँको भनाई छ ।

केन्द्रले वृद्धवृद्धाहरुको सेवाको लागि हाल सम्म आँखा परिक्षण , सुगर प्रेसरको मासिक रुपमा परीक्षण गर्दै आएको छ । साथै वृद्धवृद्धाहरुको अवस्था अनुसार धर्मिक तीर्थयात्रामा लैजाने योजना समेत रहेको बताउनुभयो । त्यसैगरी ॐ शान्ति , राम मन्दिर शाही केन्द्र, राम जानकी मन्दिर, मानव धर्म सेवा समिति लगायतले विभिन्न भजन किर्तन प्रवचन दिने गरेका छन ।

हालसम्म लागि भाँडा व्यवसायीद्धारा भाँडावर्तन, कपडा व्यवसायीले बस्ने चकटी, प्लास्टिक व्यवसायीले कुर्सी दिएर सहयोग गरेको उहांँले बताउनुभयो । संस्थाका व्यक्तिहरु मिलेर वृद्धवृद्धाहरुको सेवाको लागि रामायण भजन किर्तनको लागि टेलिभिजनको समेत व्यवस्था गरेको पियाले बताउनुभयो ।

यस्तै हरिहर मन्दिरका कार्यालय सचिव विश्वनाथ सापकोटाले सबै वृद्धवृद्धालाई समेट्न नसक्ने भएकाले सकारात्मक सन्देश प्रवाह गर्न केन्द्रको स्थापना गरिएको बताउनुभयो । यस्तै खालका केन्द्र देश तथा जिल्लाका अन्य क्षेत्रमा पनि स्थापना हुनसके अन्यत्रका वृद्धवृद्धाहरुको सहारा बन्ने सापकोटाको भनाई छ ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु