जस्ले बिताए ५० बर्ष नारायणी नदी किनारमा लुगा धोएरै जीवन

अस्मिता पराजुली, चितवन – चितवनको मुटुमा रहेको नारायणी नदी किनारमा कोही सेल्फी लिन व्यस्त छन् त कोही नदीमा मोटरबोटको मज्जा लिदै छन् । यस्तै कोही आफ्ना आफन्तसंग गफ्फिदै छन् त कोही साथीभाइहरु सँग रमाईरहेका छन् । बाहिरी जिल्लाबाट आउने हुन् या चितवनवासी सबैको लागि नारायणी नदी उत्तिकै प्रिय बनेको छ । नारायणी नदी किनारमा आउने सबैको उद्देश्य र परिस्थिति भने फरक फरक पाईन्छ ।

नदी किनारमा घुम्न आउने र रमाउने हरुको जीवनले भने त्यहाँका विविध पेशाकर्मीहरुलाई छुन सकेन । यस्तै आफ्नो जीवनलाई विगत ५० वर्षदेखि अरुका मैला लुगाको सफाईमा साट्दै आउनुभएका अब्दुलन हमीद हवारीलाई नारायणी नदिको प्रगतिले भने कहिल्यै छुन सकेन ।

झुस्स फुलेको सेतो कपाल, चाउरी परेको अनुहार र टलल्क टल्कने सेता दाँतमा सीमित परिचय र आधा शताब्दीको मैला लुगा , सरफ र साबुनपानीसंगको घनिष्टता नै उहाँको पुँजी हो । १० बर्षको कलीलै उमेर देखी गाँसिएको उहाँको यो मित्रता ६० वर्षे वृद्ध अवस्थामा पनि तोडिएको छैन ।

नारायणी नदी किनारमा लुगा धोएरै बिताएका दिनहरु सम्झदै अझै कति समयसम्म लुगा धुनु पर्ने हो भन्ने कुराले सताउने गरेको बताउनुहुन्छ । कलीलै उमेरदेखी सुरु गरेको काम बुढेसकालमा पनि छोड्न नसक्ने अवस्थाले गर्दा उहाँलाई पिरोलेको छ ।

उहाँ भन्नुहुन्छ “यो लुगा नधुम भने बिहान बेलुका के खाने लुगा धुम भने धुन सक्ने अवस्था छैन ।” हवारीको घर भारतको मोतिहारी जिल्ला जगैलिया गुरमिया हो । सात वर्षको उमेरमा नै आमाको ममताबाट टाढिएका हवारी घरको जेठो छोरा भएको र सानैमा आर्थिक जिम्मेवारी बहन गर्नुका साथै बालविवाहको बन्धनमा समेत बाँधिनुभयो ।

Forbes

उहाँको उमेर ८ बर्ष हुँदा श्रीमतीको उमेर ७ बर्ष मात्र थियो । बिवाह भएको २ बर्ष पछी १० बर्षको उमेरमा श्रीमतीलाई घरमा छाडेर भान्जा मोहरम अल्लीसंग नारायणगढ आई धोबी पेशा गर्न थाल्नुभयो । उहाँका भान्जा नारायणगढमा धोबी पेशा गर्ने पहिलो व्यक्ती थिए ।

उहाँ भन्नुहुन्छ “भान्जाले नै मलाई यहाँ ल्याका हुन् तेसपछी म यहाँ आए म आउँदा खासै धोबी थिएनन् बिस्तारै पछी अरु पनि यही पेशा गर्न आउन थाले ।” ३ कक्षा सम्म पढेपनी अर्थोपार्जनका लागि कुनै सीप आफुसँग नभएका कारण धोबी पेशालाई नै अपनाएको हवारी बताउनुहुन्छ ।

सुरुवातमा एकसुका , मोहोेरबाट लुगा धुन थाल्नुभएका उहाँले पछी बिस्तारै एक रुपैयाँ दुई रुपैयाँ गर्दै भाउ बढेको बताउनुहुन्छ । “वास्तवमा यो पेशामा कुनै मुल्य नहुने पेशा हो आफुले बताएको मुल्यमा पनि ग्राहकले बार्गेनिङ्ग गर्न खोज्छन् ।”

उहाँ भन्नुहुन्छ एकजोर सर्टपाईन्ट धुँदा ५० रुपैँया लिने गरेको तर त्यसमा पनि मोलभाउ गर्दा दु:ख लाग्छ । नारायणगढका होटल गेष्ट हाउसबाट पनि लुगा आउने तर उचित मुल्य नपाउने हुँदा फुटकर रुपमा आउने व्यक्तिगत कपडाबाट राम्रो आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

लुगा धुन लाग्ने खर्च तथा मेहनतका आधारमा मुल्य न्युन रहेको र जाडो महिनामा लुगा धुन कष्टकर हुने समेत उहाँले बताउनुभयो । नारायणी किनारमा बसेर महंगो खाजा खान , मनोरञ्जन गर्न नडराउने व्यक्तिहरु पनि लुगा धोएको मुल्य घटाउन अघि सर्दा दुख लाग्ने गरेको बताउनुभयो ।

हवारीका ९ सन्तानमध्ये हाल ७ सन्तान जीवित रहेका छन् । आफ्ना सन्तानसहित भाईलाई पनि सक्षम बनाउन यही पेशाले सघाउ पुर्याएकोमा हाल उहाँसँग सम्पत्तिका नाममा केही नरहेको र सीपमात्र रहेको हुँदा बुढेसकालमा पनि पेशा छोड्न नसकेको बताउनुभयो ।

आफुले दुख गरेर भाईलाई हुर्काए पनि हाल भने भाई आर्थिक रुपमा सम्पन्न हुँदा आफु र आफ्नो परिवारलाई नसघाएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले आँखा भरी आसु झार्दै भन्नुभयो “आफ्नो जीवन देखेर आँफैलाई धिक्कार लाग्छ ,जसरी लुगा धोयर मैलो गयो तेसै गरी मेरो जीवन बित्यो । श्रीमतीलाई पनि अहिले यही ल्याएको छु ।”

उहाँहरु गंगोत्री मार्केटमा एउटै कोठामा छोरी नातिनी र छोरासहित ५ जना बसोबास गर्नुका साथै सगै काम गर्नुहुन्छ । अतितलाई स्मरण गर्दै हवारी भनुहुन्छ “पहिला कस्तो नारायणगढ अहिले यस्तो बन्यो ,यहाँ नत पुल नै थियो न त बजारनै थियो ।

लीला चोकबाट डुंगा तरेर पारी गैंडाकोट जान सकिन्थयो अहिले मोटर बोट पानी जहाज पनि आउने भयो कती रमाइलो छ है ? “म भारत जम्मा १० बर्ष मात्रै बसे कैहिलेकाही जाने आउने गरेपनि ५० बर्ष त नेपाल बसेकाले मलाई नेपालको धेरै माया लाग्छ । तर नेपालको माया लागेपनि भारतको नागरिकता भएका कारण फर्किएर उही जानुपर्ने बाध्यता छ ।”

यसरी यही धोबी पेशालाई नै आफ्नो जीवन बनाउनु भएका हवारीले आफ्ना सन्तान हुर्काउनमा नै पेशाबाट आर्जित आम्दानीको उपयोग गर्नुभयो । तर आफ्ना लागि रकम नछुट्याउँदा हाल बुढेसकालमा पनि काम गर्नुपर्दा भने उहाँको दुखद स्थिति रहेको छ । समग्रमा धन संचित गर्न नसकेपनि सन्तानप्रतिको कर्तव्य पुरा गर्न सकेकोमा भने उहाँ सन्तुष्ट देखिनुभएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु