काठमाडौं, कार्तिक २३ – भारतले नेपालको कालापानी-लिपुलेक सहित आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछी सिमा बिबाद फेरी उत्कर्षमा पुगेको छ । हालै मात्र भारतले नेपाली भु-भाग सहित नक्सा सार्वजनिक गरेपछी यो बिषय फेरी चर्चामा आएको हो ।
उक्त नक्साको बिरोधमा नेपालभर प्रदर्शन तथा आलोचना भईरहेको छ । सर्वसाधारणबाट चर्को बिरोध भईरहदा पनि सरकारले भने अहिले सम्म अधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसैबीच नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वपक्षीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालका अनुसार दिउँसो हुने छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीलगायत सहभागी हुनेछन् । छलफलमा सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि बोलाइएको छ ।
नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझावसहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न लागेका हुन् ।
भारतले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेपछि यसको चर्को विरोध भैरहेको छ । नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् ।
सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७८ ठाउँमा विवाद छ ।


