मुढा राख्ने म्याजिकमाथि चितवन ट्राफिकको कडाई, आज मात्रै एक सय मुढा हटाईयो

चितवन, कार्तिक ३ – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मुढा राख्ने म्याजिकहरुमाथि कडाई गरेको छ । क्षमता भन्दा बढी यात्रु चढाउनका लागि मुढा राख्ने म्याजिकहरुलाई लक्षित गर्दै ट्राफिक प्रहरीले कडा चेकजाँच शुरु गरेको छ ।
बिगत केही दिनयता ट्राफिक प्रहरीले भरतपुरको बिभिन्न चोकहरुमा चेकजाँच गर्दै म्याजिकबाटमुढा हटाउन शुरु गरेको हो । पछील्लो समय दसैंयता कडा चेकजाँच गर्दै म्याजिकबाट मुढा हटाउन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख चन्द्र कुमार गिरीले बताए । पहिले देखी नै यो अभियान चलाए पनि दसैंपछी भने कडा रुपमा अगाडि बढाईएको उनको भनाई छ ।
ट्राफिक प्रहरीले आज (आइतबार) मात्रै ५० भन्दा बढी म्याजिकबाट करिब एक सय मुढा हटाएको छ । भरतपुरको चौबिसकोटीमा आज बिहान ८ बजेबाट ९:३० बजे सम्म गरिएको चेकजाँचको क्रममा एक सय भन्दा धेरै मुढा हटाईएको हो । सहचालक भएको म्याजिकमा एक वटा मुढा राख्न दिईएको छ भने सहचालक नभएका म्याजिकबाट सबै मुढा हटाईएको छ । चेकजाँचको क्रममा एउटै म्याजिकमा ३ वटा सम्म मुढा राख्ने गरेको पाईएको छ । यस्तै उनिहरुलाई आगामी दिनमा फेरी मुढा नराख्न सचेत गराईएको छ ।



भरतपुर महानगर भित्र चल्ने म्याजिकहरुले मुढा राखेर सिट क्षमता भन्दा बढी यात्रु चढाउने गरेको गुनासो बढेपछी कडा रुपमा चेकजाँच गर्न लागिएको गिरीले बताए । मुढा राखेर सिट क्षमता भन्दा बढी यात्रु चढाउदा दुर्घटना हुन सक्ने भन्दै हटाईएको उनले बताए । यो चेकजाँचलाई आगामी दिनमा पनि निरन्तरता दिईने उनले जानकारी दिए । कम्तीमा पनि हप्तामा २ दिन यसैको लागि चेकजाँच गरिने उनको भनाई छ ।
चालकले सिट बेल्ट नलगाउने, लाइसन्स बिना नै सवारी चलाऊनेहरुलाई पनि कारबाही गरिएको गिरीले बताए । यस्तै चाडपर्वको बेला गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने सवारीलाई चेकजाँच गरी करिब ७० हजार फिर्ता गराएको उनले बताए । पछील्लो समय ट्राफिक प्रहरी कार्यालय चितवन बढी भाडा लिने सवारीमाथि पनि कडा रुपमा प्रस्तुत भईरहेको छ ।
मानव सेवा आश्रमलाई मुडा
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले म्याजिकबाट निकालेको मुढा भरतपुरको बाईपासरोडमा रहेको मानव सेवा आश्रमलाईलाई हस्तान्तरण गरेको छ । आज (शनिबार) चेकजाँचको क्रममा ट्राफिक प्रहरीले म्याजिकबाट निकालेको मुढा मध्य १२ वटा मानव सेवा आश्रमलाईलाई हस्तान्तरण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख चन्द्र कुमार गिरीले आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई आश्रममै पुगेर मुढा हस्तान्तरण गरे ।
तपाइँको प्रतिक्रिया