जेसीज विकास रनिङ शिल्ड शुरु, उद्घाटन खेलमा चितवन बिजयी

एटुजेड समाचार

चितवन, असोज ३० – चितवनकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड–२०७६’ मा चितवन ११ ले बिजयी सुरुवात गरेको छ । आज (बिहिबार) बाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवनले मकवानपुर ११ लाई ३-२ गोल अन्तरले पाखा लगायो । आजको जित सँगै चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलको सुरुवाती समयमा नै चितवनले गोल गर्ने केही अवसर खेर फालेको थियो । पहिलो हाफको खेलमा चितवनले मकवानपुरको पोष्टमा लगातार अट्याक गरेको थियो । उता मकवानपुरले पनि केही सुन्दर अवसर खेर फाल्यो । तर पहिलो हाफको अन्तिम मिनेटमा रुमेश बर्तौलाले सुन्दर गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा चितवन १-० ले अघी रहे । दोस्रो हाफको पाचौ मिनेटमा चितवनले अग्रता दोब्बर बनायो । चितवनको लागि दोस्रो गोल पनि रुमेशले नै गरे । २३ औं मिनेटमा मकवानपुरका रवि भण्डारीले गोल गर्दै अग्रता २-१ मा झारे । २६ औं मिनेटमा चितवनले फेरी अग्रता लम्बायो । चितवनका अनिष श्रेष्ठले गोल गर्दै खेल ३-१ मा पुर्‍याए । लगत्तै २७ औं मिनेटमा कृष्ण रुम्बाले गोल गर्दै चितवनको अग्रता ३-२ मा झारे ।

बाँकी समयमा थप गोल हुन सकेन र चितवन ३-२ ले बिजयी भयो । खेलको म्यान अफ द म्याच चितवनको जितमा २ गोल गरेका रुमेश घोषित भए । प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) बिभागीय टोली नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब भिड्नेछन् ।

यस पटक नारायणगढ जेसीजले आयोजना गर्ने जेसिस कप र विकास शिल्ड समितिले आयोजना गर्ने ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर जेसीज बिकास रनिङ शिल्डको रुपमा आयोजना गरिएको हो । चितवनको रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला सहित, नारायणगढको क्याम्पाचौरको स्तोरन्नती र भुकम्प पिडतलाई हस्तान्तरण गरिएको कुरिनटार जेसिस बिकास गाँउको बिकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न गरिएको जनाईएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँमा चित्त बुझाउनेछ । यस्तै म्यान अफ द म्याच र अन्य बिभिन्न बिधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । करिब ६० हजार दर्शकले प्रतियोगिता अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु