भैँसी पालेरै अर्यालले कमाउँछन् मासिक ६ लाख

एटुजेड समाचार

बेझाड, असोज १८ – रामपुर नगरपालिकाका युवा कृषक नरनारायण अर्यालले दूध बिक्रीबाट मनग्य कमाइ गर्छन् । अर्यालले श्री लक्ष्मी उन्नत भैँसीफार्म दर्ता गरी गएको जेठ १६ गतेदेखि व्यावसायिक तवरबाट उन्नत जातका भैँसीपालन व्यवसाय शुुरु गरेका हुन् ।

दूध बिक्रीबाटै मासिक रु ६ लाख १५ हजार बराबरको आम्दानी हुने गरेको छ । अहिले दैनिक दुई सय पाँच लिटर दूध प्रतिलिटर रु एक सयमा बिक्री गरी रु २० हजार ५०० दैनिक आम्दानी लिँदै आएको अर्याल बताउँछन् । उनको फार्ममा हाल ६२ वटा भैँसीमध्ये २४ वटा दुहुना रहेका छन् ।

भारतको गोरखपुर, हरियाणाबाट उन्नत जातका भैँसी खरीद गरी अर्यालले व्यवसाय शुरु गरेका हुन् । एउटा भैँसीलाई रु एक लाख ६२ हजारसम्म खरीद मूल्य परेको छ । कृषि व्यवसायमा सानैदेखि सौख राख्ने अर्यालले व्यावसायिक रूपमा ठूलो लगानीमा पशुपालन व्यवसाय रोजेको बताउछन् ।

“बाल्यकालमा पनि विद्यालय पढ्दा आफैँले घरमा तरकारी, फलफूल लगाउने र आफ्नो खर्च आफैँ जुटाउने गर्थे, गाउँमा प्रशस्त जग्गा छ, कृषिमै केही गरौँ भनेर अहिले व्यावसायिक रूपमा भैँसीपालन व्यवसाय रोजेको छु” उनले भने ।यस व्यवसायबाट ६ जना युवालाई रोजगारी मिलेको छ ।

एक सय ५० वटा भैँसीपालन गर्ने उनको सोच छ । “फार्म सञ्चालनका क्रममा १५ भैँसीबाट व्यवसाय शुरु गरेको हुँ, थप गर्दै जाँदा अहिले ६२ पुगेको छ, अबको दुई वर्षभित्रमा १५० भैँसी पाल्ने लक्ष्य छ”, अर्यालले भने । एक भैँसीबाट १५ लिटरसम्म दूध उत्पादन हुने गरेको छ ।

गोठ निर्माणमा मात्र रु ४० लाख जति खर्च लागेको छ । गोठ निर्माण र भैँसी खरिद गरी जम्मा रु एक करोड छ लाख जति लगानी परेको उनले बताए ।आफ्नै १६ रोपनी जग्गामा व्यवसाय चलाएका अर्यालले घाँसपातका लागि थप १५ रोपनी जग्गा भाडामा लिएका छन् ।

यो पाल्पा जिल्लाकै पशुपालनका हिसाबले सबैभन्दा ठूलो फार्म हो ।ठूलो लगानीमा धेरै भैँसीपालन व्यवसाय भएकाले अहिले फार्म हेर्न जानेको दैनिकजसो चहलपहल बढेको छ । विभिन्न सङ्घसंस्था, व्यक्तिहरू दिनहुँ भैँसीफार्म हेर्न पुगेकै हुन्छन् ।

पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा यो फार्म सञ्चालनमा आएपछि ग्रामीण कृषि पर्यटनमा टेवा पुग्ने पशु सेवा शाखा रामपुरका प्रमुख मोहनप्रसाद भट्टराईले विश्वास गरे ।“भैँसीफार्मले रामपुर क्षेत्रका अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढाएको पाइएको छ र अर्कोतर्फ बेरोजगार भएर बसेका युवालाई रोजगार गर्ने माध्यम पनि बनेको छ”, उनले भने ।

अर्यालले आफूले उत्पादन गरेको दूध बेझाड बजारमा डेरी फार्म स्थापना गरी त्यहीँबाट बिक्री गर्दै आएका छन् । बजारमा ग्राहकले भैँसीको बढी दूध खरीद गर्ने हुँदा बिक्रीका लागि सहज भएको छ ।विदेश जाँदा लाग्ने खर्च गाउँमै बसेर कृषि तथा पशुपालन व्यवसायमा खर्चियो भने मनग्य आम्दानी लिन सकिन्छ । युवा कृषक नरनारायण अर्यालले चलाएका भैँसीपालन व्यवसाय यस क्षेत्रमा उदाहरणीय बनेको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु