चितवनका व्यापारी, दशैंका लागि ‘खसीबोका’ लिन नवलपरासी पुग्छन्

एटुजेड समाचार

चितवन ,असोज १० – दशैँ आउँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर जान थालेका छन् ।त्यहाका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर गएका हुन् । काठमाडौं, बुटवल, चितवन, पोखरा,लगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न नवलपुर जाने गर्छन । त्यहाका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । चितवनबाट खसी खरीदका लागि गएका व्यापारी सुनिल तिवारीले खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने गरेको बताए ।

यस वर्ष बाख्रा पकेट क्षेत्रका रुपमा विभिन्न क्षेत्रका कार्यक्रमसमेत सञ्चालन गरिएको छ । नवलपुरको पहाडी क्षेत्र बाख्रापालनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । हुप्सेकोटको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारीले रु दुई करोड ५० लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने लक्ष्य लिएको छ । विजयादशमीमा सहकारीले करीब दुई हजार खसीबोका बिक्री गर्ने गरी सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सहकारीले सङ्कलन केन्द्रमा रहेका खसीबोकमालाई जिल्लाका विभिन्न बजारसँगै काठमाडाैं,बुटवल, चितवन, पोखरा, पठाउँदै आएको व्यवस्थापक सुशीला परियारले बताए।  सहकारीले अहिले प्रतिकिलो रु ४९० का दरले जिउँदो खसीबोकाको मासु बिक्री गरिरहेको छ । दशैँसम्म मूल्य बढेर रु ५१० सम्म पुग्ने उनले बताइन । पहाडी क्षेत्रबाट धेरैजसो खसीबोका झ्यालबासको सङ्कलन केन्द्रमा ल्याउने गरिएको छ । गत वर्ष उक्त सहकारीले रु दुई करोड ८१ लाखको दुई हजार ९८६ खसीबोका बिक्री गरेको थियो । ‘यस वर्ष चार हजार खसीबोका बिक्री गर्ने लक्ष्य’रहेको
, परियारले भनिन ।

यस्तै मध्यविन्दु नगरपालिका–१२ तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीले समेत खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । तीन वर्षदेखि तमासपुरमा खसीबोका तथा बाख्रा बिक्री केन्द्र स्थापना गरी सहकारीले खसीबोका बिक्री गर्दै आएको व्यवस्थापक सुमित्रा पाल्पालीले बताइन्। बिचौलिया मार्फत बिक्री गर्दा किसानलाई नाफा कम हुने र किसानले लगानी गरेअनुसार प्रतिफल पाउन नसक्ने अवस्था थियो । बिक्री केन्द्र स्थापना गरेर सोझै बिक्री गर्न थालेपछि किसानलाई नाफा भएको पाल्पालीले बताइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु