सप्तगण्डकी क्याम्पसमा शुरु भयो एफ.एम तथा टेलिभिजन ल्याव, मुख्यमन्त्रीले गरे उद्घाटन
अस्मिता पराजुली,
चितवन, भाद्र २६ – सप्तगण्डकी बहुमुखी क्याम्पसमा एफ.एम तथा टेलिभिजन प्रयोगशाला सञ्चालनमा आएको छ । सो एफ.एम तथा टेलिभिजन प्रयोगशालाको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल (आज) बिहीबार उद्घाटन गरे ।एफ.एम तथा टेलिभिजन प्रयोगशालाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताए ।
हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको बताउँदै मुख्यमन्त्री पौडेलले भने, ‘सामुदायिक क्याम्पसमा आफ्ना केही समस्या छन् प्रदेश सरकारले त्यसलाई समाधानको प्रयास गर्छ ।’मुख्यमन्त्री पौडेलले सरकारले अनुमति मात्रै दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पसहरुले उल्लेख्य प्रगति गर्न नसकेको बताए ।
सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उनले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको जानकारी दिए ।यस क्याम्पसमा पढ्न पाउनु विद्यार्थीहरुको गौरबको कुरा हो भन्दै उनले आउँदा दिनहरुमा पनि यस्तै यस्तै राम्रा कार्य गरेमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे।
यस्तै क्याम्पसका प्रमुख मणीराज महत्तोले आम सञ्चार तथा पत्रकारीता अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रयोगात्मक कार्य गर्न क्याम्पस बाहिर जान नपरोस भन्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको बताए । उनले प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ र क्याम्पसको ५ लाख लगानी गरेको जानकारी दिए । २०४५ मा स्थापना भएको क्याम्पसमा ७० जना शिक्षक र २५ जना कर्मचारी रहेका छन् भने हाल ३ हजार विद्यार्थी अध्ययनरत रहेको समेत उनले जानकारी दिए।
तपाइँको प्रतिक्रिया