भरतपुर,भाद्र ३ – समाजसेवी ध्रुवराज थपलियाले आफ्नो जन्मदिन देवघाटस्थित रामजानकी बालिका आश्रममा मनाएका छन् । बालिका आश्रममा रहेका ३२ जना बालिकालाई टीका लगाएर बिहानको खाना खुवाई उनले आफ्नो ७० औं जन्मदिन मनाएका हुन् ।
थपलियाले जन्मदिनमा केक काटेर फजुल खर्च गर्ने हाम्रो संस्कृति नभएको भन्दै बालिकाहरुसँग वैदिक वातावरणमा सात्विक भोजन गरेको बताए । “होटलमा जाने, हजारौं खर्च गर्ने हाम्रो संस्कृति होइन”, उनले भने, “बरु जति सकिन्छ सामाजिक काम गर्ने हो ।”
सो क्रममा उनले बालिकाहरुलाई फलफूल पनि बाँडेका थिए । लोक कल्याण प्रतिष्ठानले सञ्चालन गरिरहेको यो आश्रममा विभिन्न उमेर समूह र जातजातिका बालिकाहरु आश्रित रहेका छन् । उनीहरु सीताराम संस्कृत मा.वि. परिसरमा बस्छन् । सोही विद्यालयमा पढ्छन् । यस्तै शुभ अवसरमा दाताले गरेको सहयोगको आधारमा आश्रम चलिरहेको सञ्चालक सावित्री टण्डनले बताइन् । देवघाट क्षेत्र विकास समितिले उपलब्ध गराएको जग्गामा आफ्नै भवन बनाएर आश्रम चलाउने योजना रहेको तर स्रोत साधनको कारण समस्या भएको टण्डनले बताईन ।





