भदौ २, चितवन । सरकारले तलब बुझने र पारिश्रमिक लिनेहरुका लागि साउन १ गतेदेखि व्यत्तिगत लेखा नम्वर (प्यान) अनिवार्य लिनु पर्ने व्यवस्था गरेसंगै आन्तरिक राजश्व कार्यालय, भरतपुरमा प्यान लिनेहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
कार्यालयमा साउन महिनामा मात्रै ८ हजार ९ सय ११ जनाले प्यान लिएका छन । आन्तरिक राजश्व विभागले जेठ १५ गतेदेखिनै प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था गरेसंँगै दैनिक रुपमा प्यान लिनेको संख्यामा बृद्धि भएको कार्यालयका सूचना अधिकारी धनीश्वर अर्यालले जानकारी दिए ।
साउन महिना बाट अनिवार्य प्यानको व्यवस्था गरेसंँगै कार्यालयमा व्यत्तिगत प्यान लिनेको चाप बढेको उनले बताए । व्यत्तिगत प्यानल लिएपछि कार्यालयमा अभिलेख राख्न सहज भएको र आम्दानी पारदर्शी हुने अर्यालयको भनाई छ । भदौ लागेपछि अधिकांश व्यत्तिले प्यान लिइसकेका कारण चाप कम हुदै गएको छ । प्यान लिएपछि व्यत्तिले आफूले तिरेको आम्दानीको करले राष्ट्रिय योगदान मदत पुगेको अनुभव गर्नेछन ।
देशभर साउनमा मात्रै २ लाख ५४ हजार ४ सय ४५ जनाले व्यक्तिगत स्थायी लेखा नम्वर लिएका छन भने जेठ बाट साउन मसान्त सम्म प्यान नम्बर लिनेको संख्या ३ लाख ४० हजार पुगेको विभागले जनाएको छ ।
शुरुदेखि साउन मसान्तसम्म करीब २५ लाखको संख्यामा स्थायी लेखा नम्बर प्यान वितरण भएको बताइएको छ ।


