असार २३,दाङ । दाङ देउखुरी जिल्ला अदालतले सामूहिक बलात्कार काण्डमा दुईजना व्यक्तिलाई जनही १२-१२ वर्ष कैद फैसला सुनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका- ३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय गुरुप्रसाद पुनलाई पाँच वर्ष अगाडिको एउटा बलात्कार काण्डमा दोषी ठहर गर्दै आइतबार अदालतले उक्त सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले तुलसीपुर ३ कै १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२-१२ बर्ष कैद सजाय तोक्दै दुबैजनाबाट जनही ५०-५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
२०७१ साल असार २३ गते थापा र पुनले ती बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरी परेको थियो ।
उक्त बलात्कार काण्डपछि फरार रहेका अभियुक्त थापा र पुनलाई प्रहरीले २०७५ पुस १८ गते पक्राउ गरेपछि मुद्दा चलाएको थियो । त्यसमा जिल्ला अदालतले दुबै जनालाई बलात्कार काण्डमा दोषी ठहर गर्दै जनही १२-१२ वर्ष कैद सजाय र क्षतिपूर्ति बापत जनही ५०-५० हजार भराउन फैसला सुनाएको हो । बाह्रखरीबाट


