पौडेलको स्मृतिमा नेकपा चितवनको श्रद्धाञ्जली सभा सम्पन्न

माडी, असार ०६ – हृदयघातका कारण दुःखद निधन हुनुभएका नेकपाका केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय शिक्षा आयोगका पूर्व सदस्य डि.आर. पौडेलको स्मृतिमा नेकपा चितवनले श्रद्धाञ्जली सभा गरेको छ ।
मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेस, बसन्तपुरमा सम्पन्न सो श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र केन्द्रीय नेता अमिक शेरचनसंगै प्रदेश, जिल्ला र स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिथि रहेको थियो । कार्यक्रमका सहभागीहरुले दिवंगत नेता डि.आर. पौडेलप्रति श्रद्धाञ्जली तथा उहाँका परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाशले दिवंगत पौडेल र आफूले ३५ बर्षदेखि सहकार्य गरेको स्मरण गर्दै पौडेलको निधनबाट आफू कमजोर भएको महसुस भएको जनाए । उनको निधनबाट पार्टी र देशले इमानदार र सादगी नेता गुमाउनु परेको उनको टिप्पणी थियो । त्यसैगरी अर्का वक्ता अमिक शेरचनले सभामा मन्तव्य राख्दै नेकपा केन्द्रीय समितिका तर्फबाट अध्यक्ष प्रचण्डले जारी गरेको शोक वक्तव्य त्रुटिपूर्ण रहेको औल्याए । केन्द्रदेखि स्थानीय तहसम्मकै भ्रष्टाचारी नेता कार्यकर्ता र कर्मचारीहरुलाई ज्यान मुद्धासरह सजाय दिन सक्ने ब्यबस्था ल्याए मात्रै दिवंगत पौडेलप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई थियो ।
दोश्रो संबिधानसभाका पूर्व सभासद समेत रहेका पौडेलको गत २०७६ जेष्ठ ३१ गते बिहान ०६:४५ बजे हृदयघातका कारण निधन भएको हो । उहाँको सोही दिन माडीको मगोई खोलामा दाहसंस्कार गरिएको थियो । अब पौडेल परिवारमा श्रीमती गंगा बेल्बासेसंगै २ छोरीहरु जागृति पौडेल र आकृति पौडेल तथा बुवा, आमा, एक भाई र सातजना दिदीबहिनी रहेका छन् ।
तपाइँको प्रतिक्रिया