चितवन, जेष्ठ १५ – चितवनको रामपुरमा निर्माणा भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा स्थानीयले डोजर लगाएका छन् ।रंगशालाको बारमा बुधबार विहान स्थानियले डोजर लगाएका हुन् । डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले जनाएका छन् । उनिहरुले कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् ।
बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारी तथा सुरक्षामा खटिएका प्रहरीहरुलाई समेत धम्काएका थिए । यस्तै उनिहरिले प्रहरीहरुलाई खिचेको फोटो समेत डिलिट गर्न भन्दै धम्की दिएका थिए ।घटनामा संलग्न भएको आशंकामा १६ जना र बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीको नियन्त्रणमा रहेको छ । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । केही दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल भएको थियो र उक्त छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल गर्ने भन्दै भएकोले तत्काल काम गर्न दिन अनुरोध गरिएको थियो ।
बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘उहाँहरुले अहिले सामान सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो र लगाएँ तर एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ‘जहाँका जनताले सबैभन्दा बढी लाभ लिन्छन् लिइरहेका छन् उनीहरू नै अराजक शैलीमा एकाविहानै बार तोड्न आए, न कुनै छलफल छ न कुनै जानकारी’ अध्यक्ष कट्टेलले भने ‘यहाँका मान्छेलाई रंगशाला चाहिएको जस्तो देखिएन, हिजो घडा थापेर स्वागत गर्नेहरु आज रमिते बने ।’त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीर रुपमा लिएको बताइन् । घटनामा संलग्नलाई तुुरुन्तै पक्राउ गरी कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको मेयर दाहालले बताइन् ।चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजनाका लागि कुनै पनि सुरक्षाको कमी नहुन नदिइने बताउदै घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने बताए । यस्तै स्थानियले पनि घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेका छन् ।
https://www.youtube.com/watch?v=OiGwhP8DZy4&t=3s


