यस्ता छन् हैजाका लक्षण र बच्ने उपाय

बैशाख २५,काठमाडौं । सामान्यतया हैजा किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले दुषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाटसमेत हैजाका जीवाणु सर्ने बताए । उनले भने, “काठमाडौं उपत्यकामा नै एक पुरुषमा हैजाको जीवाणु भेटिएको हुँदा अरुमा पनि यसको जोखिम हुनेसक्ने भएकोले खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ।”
चिकित्सकहरुका अनुसार हैजा भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । “हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि चौलानी पानी जस्तो दिसा आउने, बान्ता हुने र मांशपेशी बाउँडिनेलगायतका लक्षण देखिने हुन्छ,” उनले भने, “जुनसुकै पानी पनि राम्रोसँग उमालेर पिउँदा हैजाबाट बच्न सकिन्छ ।”
हैजा विशेष गरेर पानी पर्ने मौसममा देखिने गरेकोमा यो पटक केही अगाडी नै देखिएको हुँदा यसको जोखिमबाट बच्न समयमा सर्तक रहन डा. पुनको सुझाव छ ।


त्यसैगरी सरसफाईको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएको प्रदुषित खाना वा पानीबाट मानिसमा हैजा सर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले बताए ।
केही दिन यता अस्पतालमा दैनिक ३ देखि ५ जनासम्म झाडापखालाका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । विकासोन्मुख देशहरूमा प्रायःजसो पानीका कारणले यो रोग सर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
लक्षण
चौलानी पानीजस्तो दिसा हुने ।
बान्ता हुने ।
पेट दुख्ने ।
बाउँडिने समस्या आउने ।
आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी पर्ने आदि लक्ष्ण देखिन्छ ।
बच्ने उपाय
शुद्ध, सफा र सुरक्षित पानी मात्र पिउने ।
जुनसुकै पानी पनि निर्मलीकरण गरेर वा उमालेर मात्र पिउने ।
सरसफाईमा ध्यान दिने । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया