चितवन, बैशाख २२ – नारायणगढस्थित आदिकवि भानु माविका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुविन सुनारलाई बिहीबार कक्षामा हल्ला गरेको भन्दै विषय शिक्षक निराजन भट्टले कुटेका हुन् । कुटाइबाट सुविनको पछिल्लो भागमा निलडाम छ । कुटाइबाट उनी कमजोर देखिएका छन् ।
बिहीबार छैटौं पिरियडमा कक्षामा हल्ला गरेको र अनुशासन पालना नगरेकाले विद्यार्थीलाई कुटेको शिक्षक भट्टले स्वीकार गरेका छन् । “यो विद्यार्थीले भनेको पनि मान्दैन, कक्षामा हल्ला बढी गर्छ, पढाइ भएको यतिका दिनसम्म पनि किताब नबोकी विद्यालय आउँछ, बेल्ट पनि लाउँदैन, त्यही भएर उसलाई कुटेको हुँ”, शिक्षक भट्टले भने, “मबाट गल्ती भएको छ ।
आगामी दिनमा यस्तो हर्कत दोहो¥याउने छैन ।”घाइते विद्यार्थीको उपचार खर्च पनि शिक्षक भट्टले नै ब्यहोर्ने भएका छन् । नीजी स्रोतबाट नियुक्त भएका शिक्षक भट्ट उक्त विद्यालयमा विगत एक वर्षदेखि अध्यापनरत छन् । सँगै पढ्ने साथीलाई उसको किताब दिनेक्रममा हल्ला ग¥यो भनेर आफूलाई कुटेको पीडित विद्यार्थी सुविनले बताए । “सरले मलाई १० पटकभन्दा बढी मुड्कीले कुट्नु भयो”, घाइते सुनारले भने, “कक्षा कोठाबाट अफिसमा लगेर वालम्यापको डन्डीले पनि पिट्नुभयो ।
मलाई पिट्दा डन्डी पनि भाँचियो, सहनै नसक्ने गरी दुख्यो । मैले ऐया ऐया गर्नेबाहेक केही गर्नै सकिन ।”विद्यार्थीलाई कुटेलगत्तै शिक्षक भट्टले विद्यार्थीका बाबुलाई विद्यालयको टेलिफोनबाट फोन गरेर छोरा लिन बोलाएका थिए । ‘यसलाई हामीले पढाउन सक्दैनौं, लिएर जानोस्’ भनेर फोन गरेको सुविनका बाबु धनप्रसादले बताए ।शुक्रबार बिहान घाइते छोरालाई लिएर धनप्रसाद १० बजे विद्यालय पुगेका थिए ।
विद्यालयका प्रधानाध्यापक विष्णु सापकोटाले आफ्नो कार्यकक्षमा पत्रकारसहित अभिभावक देख्दा पत्रकारलाई किन ल्याएको भनेर रोष प्रकट गरे । “विद्यार्थीलाई पढाउने क्रममा कुट्ने पिट्ने हाम्रो कुनै नीति छैन”, प्रधानाध्यापक सापकोटाले भने, “ कैले काहीं सम्झाउन खोज्दा हात उठेको हुनसक्छ । यो घटनाले हामी पनि दुःखी भएका छौं । आगामी दिनमा यी घटना नदोहो¥याउन हामी प्रतिबद्ध छौं ।”