बच्चाको उपचारको क्रममा मृत्यु, भएपछि चितवन मेडिकल कलेज तनाबग्रस्त
बैशाख १४,भरतपुर । सामान्य रुघाखोकी लागेर उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएका बच्चाको मृत्यु भएपछि परिवार र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएका बच्चाको मृत्यु भएपछि शबसमेत बेपत्ता पारिएको परिवारले आरोप लगाएका छन् ।
गएको चैत ३० गते सामान्य रुघाखोकी लागेर उपचारका लागि लगिएका रत्ननगर–१५ बस्ने रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको मृत्यु भएपछि अस्पतालले शव बेपत्ता पारेको बाबु रुपेशले बताउनुभयो । अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका नाबालक रुप्सनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको भन्दै आफुलाई राति १० बजे टेलिफोन गरी शब बुझ्न आउन बोलाइएको मृतक नाबालकका बाबु रुपेश घिमिरेले रुँदै बताउनुभयो ।
घिमिरेको परिवार गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर–४, फुजेल घर भई चितवनको रत्ननगर– १५ मा बसोवास गर्दै आएको छ । मृतक नाबालकका बाबु रुपेशका अनुसार डाक्टर सन्तोष पाठकले बैशाख २ गते दिउँसो नाबालक रुप्सनलाई निको हुँदै गएकोले भोलिपल्ट ३ गते घर पठाइदिने बताएका थिए । तर सोही दिन साँझ ५ बजे ४५ मिनेट अगाडि नै तयार गरेर राखिएको इन्जेक्सर रुप्सनलाई लगाउँदै गर्दा तत्कालै उनका सबै अङ्गले काम गर्न छोडेर बेहोस बनेका बाबु रुपेशले बताउनुभयो ।
‘बच्चा बेहोस भएपछि छातीमा हातले पम्प गरे, मुटु अलिअलि चल्न थालेपछि भेन्टिलेटरमा लगे’ रुपेशले भने । डाक्टरले अस्पतालमा रहेका कुरुवालाई वैशाख १३ गते शुक्रबार दिउँसो ४ बजे रुप्सनको मृत्यु भएको बताएका थिए । त्यतिबेला आफु अस्पतालमा नरहेको र राति १० बजे आफुलाई अस्पतालबाट टेलिफोन गरी शब बुझ्न आउन भनिएको रुपेशले बताए । तर राति उनीहरु शब बुझ्न गएनन् ।
शनिबार बिहान ७ बजे अस्पताल पुग्दा बच्चाको शव गायब बनाइएको मृतक बच्चाका बाबु रुपेशले बताए । अस्पताल प्रशासनले बच्चाको शव भरतपुर अस्पतालको शव गृहमा लगेर राखिएकोले त्यहीँबाटै शव बुझ्न भनेका रुपेशले बताए ।
मृतक नाबालक रुप्सनका घरपरिवार तथा आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा भर्ना गरिएको बच्चाको शव अस्पतालाटै परिवारलाई दिन माग गर्दै प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेजले बच्चाका परिवारको अनुमति बिना भरतपुर अस्पतालको शव गृहमा बच्चाको शब पु¥याएको जानकारी परिवारलाई गराएकोमा परिवार र आफन्त आक्रोशित बनेका हुन् ।
उपचारमा गम्भीर लापरवाही गरिएको र बच्चाको मृत्यु भएपछि बच्चाको शव बेपत्ता पारिएको भन्दै आक्रोशित परिवारजन तथा आफन्तले दिउँसो चितवन मेडिकल कलेजमा तोडफोडसमेत गरेका छन् । ढुङ्गा लागेर अस्तालको मूल ढोकाको शिशा फुटेको छ । अस्पतालमा तोडफोड भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सुरक्षाका लागि अस्पताल पुगेका थिए । मृतक बच्चाका परिवारजन तथा आफन्तले अस्पतालको लापरवाहीका विरुद्ध घण्टौँसम्म नाराबाजी गरेका थिए । अस्पताललाई सुरक्षाका लागि प्रहरीले घेरा हालेको छ ।
उक्त घटनापछि अस्पताल प्रशासन, बच्चाका परिवार, आफन्त र मजदुर सङ्गठनका नेताहरुबीच वार्ता भएपनि निष्कर्ष निस्कन सकेन । अस्पतालले उपचारमा लागेको खर्च व्यहोर्ने बताएको र परिवारले अस्पतालले गम्भीर लापरवाही गरेकोले १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेको स्रोतले बताएको छ ।
तपाइँको प्रतिक्रिया