चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

लहान, चैत २८ – चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो ।
टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा हिजो विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र सदामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताए । (रासस)
तपाइँको प्रतिक्रिया