हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४ कर्रामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
खाली डिब्बा ट्रकको ठक्करबाट हेटौंडाकी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो । मोटरसाइकल चालक ७० वर्षीय श्यामप्रसाद पाठक घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कर्रामा पशुपतिनगरतर्फबाट आएको बा प्र ०३–००५ प ५१४९ नम्बरको मोटरसाइकललाई हेटौंडा बजारबाट कर्रातर्फ जाँदै गरेको ना ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल अनियन्त्रित भएर लडेपछि खाली डिब्बा ट्रकको पछाडिको चक्काले मोटरसाइकलमा सवार महिला र चालकलाई किचेको प्रहरीले जनाएको छ ।
डिब्बा ट्रक र चालक हेटौंडाका ४४ वर्षीय मनराज थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


