भक्तपुर। सरकारले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको अस्थायी होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई दुई दिनभित्र उक्त स्थान खाली गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, भक्तपुरले एक सार्वजनिक सूचना जारी गर्दै आगामी शुक्रबार (मङ्सिर ११ गते) दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको हो।
काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका अनधिकृत बस्ती हटाइएपछि विस्थापित भएका परिवारहरूलाई अस्थायी रूपमा यहाँ व्यवस्थापन गरिएको थियो। भूमि समस्या समाधान समितिको बुधबारको पत्रको हवाला दिँदै प्रशासनले छानबिनको विवरणसमेत सार्वजनिक गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय पालिकाबाट प्राप्त अभिलेखअनुसार बोडेमा बस्दै आएका कुल १९ परिवारमध्ये ७ परिवार भूमिहीन नरहेको पुष्टि भएको छ। ती परिवारका घरमूली वा सदस्यहरूको नाममा देशका विभिन्न स्थानमा जग्गा रहेको प्रमाण फेला परेपछि उनीहरू वास्तविक भूमिहीनको सूचीबाट हटेका हुन्।
बाँकी १२ परिवारको हकमा भने कतै पनि जग्गा नदेखिएकाले उनीहरूलाई वास्तविक भूमिहीन ठहर गरिएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काका अनुसार ती १२ परिवारलाई सम्बन्धित पालिकामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइसकिएको छ र उनीहरूको भूमिहीनको निस्सासमेत तयार भइसकेको छ।
“बोडेमा १९ परिवार बसेका थिए, जसमध्ये छानबिनका क्रममा ७ परिवारको नाममा जग्गा देखिएपछि उनीहरू भूमिहीनमा परेनन्,” प्रजिअ खड्काले भने, “बाँकी १२ परिवारलाई भूमिहीनको निस्सा र सरकारले तोकेको एक महिनाको घरभाडाबापतको सुविधा दिएर शुक्रबार दिउँसो २ बजेभित्र होल्डिङ सेन्टर छाड्न भनिएको हो।”
प्रशासनले वास्तविक भूमिहीन ठहरिएका १२ परिवारलाई तत्काल आ–आफ्नो निस्सा र घरभाडा सुविधा बुझेर अस्थायी शिविर खाली गर्न आग्रह गरेको छ। तोकिएको समयसीमाभित्र स्थान खाली नगरिए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने संकेतसमेत प्रशासनले गरेको छ।


