सुडानमा ड्रोन आक्रमणः बालबालिकासहित १४ जनाको मृत्यु

एटुजेड समाचार

एजेन्सी– सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् ।

अस्पतालका एक स्वास्थ्य स्रोतका अनुसार मंगलबार साँझ तीनवटा आवासीय घरमा ड्रोन प्रहार गरिएको थियो । यद्यपि, युद्धसम्बन्धी हिंसाका घटना अभिलेख राख्ने संस्था ‘इमर्जेन्सी लयर्स’ले मृतकको सङ्ख्या १९ पुगेको जनाएको छ ।

सन् २०२३ अप्रिलदेखि सुडानी सेना र आरएसएफबीच जारी युद्धमा दशौँ हजारको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।पछिल्लो समय इथियोपिया सीमावर्ती ब्लु नाइल राज्यमा हिंसा बढेको छ ।

आरएसएफले राज्यको राजधानी अल–दामाजिन कब्जा गर्ने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आसपासका गाउँबाट एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

मंगलबार रोजेरेस सहरमा पनि बाँध, विद्युत् उत्पादन केन्द्र र पूर्वाधारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

यसैबीच, सुडानले आरएसएफलाई आफ्नो भूमिबाट आक्रमण गर्न दिएको आरोप इथियोपियामाथि लगाएको छ । इथियोपियाले भने आरोप अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सुडानको युद्धलाई विश्वकै गम्भीर मानवीय संकटमध्ये एक भनेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु