काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापति भएपछि आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच पटक भेटेको बताएका छन्। मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीका साथसाथै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेसँग हुने भेटघाट स्वाभाविक रहेको बताए ।
बैठकमा सभापति थापाले अस्ति मात्रै अध्यक्ष ओलीसँग पाँचौँ पटक भेट भएको जानकारी दिए। कांग्रेस प्रदेश सरकारहरूमा सँगै रहेकाले प्रदेश सरकारका विषयमा विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल हुनु स्वाभाविक रहेको उनले बताए।
विशेषगरी मधेश प्रदेशको सरकारको विषयमा मध्यावधि निर्वाचनमा जाने वा दलहरूबीच छलफलबाट निकास खोज्ने भन्ने परिस्थिति बनेकाले संवाद गर्नुपरेको थापाले उल्लेख गरे। उनले भने, ‘म नेपाली कांग्रेसको सभापति हुँ। मेरो नेकपा एमालेको अध्यक्षसँग भेटघाट हुन्छ, नेकपाका संयोजकसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग पनि हुन्छ। यो स्वाभाविक कुरा हो। दलहरूबीच छलफल गर्दैगर्दा स्वाभाविक रूपमा मैले प्रचण्डजीसँग छलफल गर्छु मधेशको सरकारको बारेमा, म उपेन्द्रजीसँग छलफल गर्छु, म केपी ओलीसँग छलफल गर्छु।
अहिले सामाजिक सञ्जालमार्फत भय सिर्जना गरेर अलमल्याउन खोजिने गरेको टिप्पणी गर्दै थापाले यस्ता राजनीतिक भेटघाट र संवादले पार्टीको मूल चरित्र र अडानमा कुनै तलमाथि नहुने बताए।
बैठकमा उनले रास्वपाले बहुमत ल्याएकाले पाँच वर्ष सरकार चलाउन दिनुपर्ने र सरकारमा जानका लागि प्रतिपक्षी दलहरूबीच गठजोड गर्ने पक्षमा कांग्रेस नरहेको समेत स्पष्ट पारे। यद्यपि, आवश्यक विषयमा प्रतिपक्षी दलहरूबीच संवाद र सहकार्य गर्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने सभापति थापाको भनाइ थियो।


