काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालका कारण विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो समय हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ। पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन तथा उद्धारका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन हुने गरेका छन्। तर उडानको चापसँगै दुर्घटनाका घटनासमेत बढ्न थालेपछि हवाई सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार पछिल्लो एक दशकमा सोलुखुम्बुमा पाँचवटा प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटना भएका छन्। यी घटनामा मानवीय क्षतिदेखि हेलिकप्टर पूर्ण रूपमा क्षतिग्रस्त हुनेसम्मका अवस्था देखिएका छन्।
पछिल्लो पटक गत कात्तिक १७ गते फेरुचे हेलिप्याडमा फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकप्टर अवतरणका क्रममा एकापसमा ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भयो भने तीन जना घाइते भए। यस घटनाले हिमाली क्षेत्रमा हेलिकप्टरको उडान तथा अवतरण व्यवस्थापनमाथि थप प्रश्न खडा गरेको छ।
त्यसो भए सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुनुको मुख्य कारण के हो त?
हिमाली भूगोल, अग्ला पहाड, साँघुरा उपत्यका, अचानक परिवर्तन हुने मौसम, हिमपात र कुहिरो उडानका प्रमुख चुनौती हुन्। तर दुर्घटनाको कारण मौसम मात्रै नभई प्राविधिक अवस्था, अवतरणस्थलको जोखिम, चालकको निर्णय र व्यवस्थापकीय कमजोरी पनि हुन सक्ने देखिएको छ।
यसको उदाहरण हो, सन् २०२५ अक्टोबर २९ मा लोबुचेमा भएको हेलिकप्टर दुर्घटना। सरकारी अनुसन्धान प्रतिवेदनअनुसार हेलिकप्टरमा प्राविधिक खराबी थिएन। हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्दा स्किड असन्तुलित हुनु र चालकबाट आवश्यकताभन्दा बढी नियन्त्रण प्रतिक्रिया हुनु दुर्घटनाको मुख्य कारण थियो।
प्रतिवेदनले उडानपूर्व जोखिम मूल्याङ्कन, मौसमसम्बन्धी जानकारी र कम्पनीको सञ्चालन व्यवस्थापनमा समेत कमजोरी औँल्याएको थियो। साथै उच्च हिमाली क्षेत्रमा मौसम मापन केन्द्र र प्रभावकारी सञ्चार व्यवस्थाको अभावलाई पनि चुनौतीका रूपमा देखाइएको छ।
विशेषगरी लुक्लाभन्दा माथिका फेरुचे, लोबुचे र गोरक्सेपजस्ता क्षेत्रमा प्रभावकारी हवाई ट्राफिक नियन्त्रण नहुँदा चालकहरूबीच आपसी सञ्चार र समन्वयमा निर्भर हुनुपर्ने अवस्था छ। एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन हुँदा यसले दुर्घटनाको जोखिम थप बढाउन सक्छ।
अर्कोतर्फ, हेलिकप्टर कम्पनीहरूबीचको व्यावसायिक प्रतिस्पर्धा र बढ्दो उडान चापले पनि सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ। स्थानीय बासिन्दाले हेलिकप्टरको आवाज, वातावरणीय असर र स्थानीय रोजगारीमा परेको प्रभावप्रति समेत चिन्ता व्यक्त गर्दै आएका छन्।
सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि हेलिकप्टर सेवा महत्त्वपूर्ण भए पनि यात्रुको सुरक्षा सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्छ। त्यसका लागि प्रभावकारी नियमन, नियमित अनुगमन, सुरक्षित हेलिप्याड, मौसम मापन केन्द्र र भरपर्दो सञ्चार प्रणाली आवश्यक देखिन्छ।
अन्ततः हिमाली पर्यटनको प्रतिष्ठा जोगाउन हेलिकप्टरको सङ्ख्या र व्यावसायिक आम्दानीभन्दा यात्रुको जीवन र सुरक्षित उडानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। दुर्घटना भएपछि मात्र होइन, दुर्घटना हुनै नदिने व्यवस्था गर्नु आजको मुख्य आवश्यकता हो।


