चितवन – भरतपुर-८, गौरीगन्जस्थित इडन गार्डेन स्कुलको आयोजना तथा नेपाल सितोरियो कराँते संघ चितवनको समन्वयमा विद्यार्थीहरूका लागि एकदिने ‘आत्मरक्षा प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।

विद्यालयका प्राचार्य अर्जुन जी शर्माको अध्यक्षता एवम् भरतपुर -८ का वडा अध्यक्ष जीवनाथ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्की र चितवन सितोरियो कराँते संघका अध्यक्ष चित्रबहादुर रानामगर विशिष्ट अतिथि रहनुभएको थियो।
प्रशिक्षणको पहिलो सत्रमा कराँते प्रशिक्षक चित्रबहादुर रानामगर ,बौद्ध लामा र ईश्वरी कँडेल,गुन्जवी रानामगर, देवी प्रजापति,लक्ष्मी क्षेत्रीले व्यावहारिक आत्मरक्षाका सीपहरू सिकाउनुभएको थियो भने दोस्रो सत्रमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अस्मिता गोदारले लैङ्गिक हिँसा,यौन हिँसा ,घरेलु हिँसा ,शारीरिक हिँसासम्बन्धी कानुनी सचेतना तथा आत्मसुरक्षाका उपायबारे प्रशिक्षण दिनुभएको थियो। । कार्यक्रममा अतिथिहरूले किताबी ज्ञानसँगै यस्ता जीवनोपयोगी तालिम दिनु सराहनीय रहेको बताउनुभयो ।

करिब ४ बिघाको फराकिलो एवम् सुविधासम्पन्न भौतिक पूर्वाधारका साथ आधुनिक प्रविधिमैत्री वातावरणमा सञ्चालित यस विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिँदै आएको छ । “Rooted Locally, Competitive Globally” भन्ने मूल नाराका साथ इडन गार्डेन स्कुलले गुणस्तरीय शिक्षासँगै ध्यान, खेलकुद, कोडिङ,रोबोटिक्स ,नृत्य ,सङ्गीत ,पौडीसँगै करिब १५ ओटा क्लब कक्षाजस्ता व्यवहारिक सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आइरहेको प्राचार्य शर्माले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सभाध्यक्ष शर्माले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका नेपाली विषय शिक्षक मधुसुदन पौडेलले गर्नुभएको थियो।


