एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

एटुजेड समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको हो ।

चितवनको सुरुवात भने निकै खराब रहेको थियो । तेस्रो ओभरमा बलिङ गर्न आएका काठमान्डुका कप्तान करण केसीले लगातार दुई बलमा दोहोरो सफलता हात पार्दै चितवनलाई दबाबमा राखेका थिए । उनले ओभरको पहिलो बलमा १५ बलमा १७ रन बनाएका देव खनाललाई पेभेलियन पठाए भने लगत्तै दोस्रो बलमा डेविड मलानलाई शून्य रनमै आउट पारे । सुरुवाती झट्कापछि चितवनले पावरप्लेमा २ विकेट गुमाएर मात्र ३४ रन जोड्न सक्यो ।

सुरुवाती दबाबका बीच चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रवि बोपारा र कामिल मिशाराले चितवनको इनिङ्स सम्हालेका थिए । आठौँ ओभरमा काठमान्डुका विलियम बोसिस्टोले मिशाराको क्याच छुटाएपछि पाएको जीवनदानको उनले भरपूर सदुपयोग गरे । सुरुमा संयमित ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक पूरा गरेका मिशाराले त्यसपछि भने आक्रामक रूप धारण गरे । उनले १४ औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गर्दै काठमान्डुका बलरमाथि पूर्ण दबाब सिर्जना गरे ।

उत्कृष्ट लयमा देखिएका मिशाराले ५३ बलमा आफ्नो शतक पूरा गरेसँगै एनपीएलमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका थिए, जसमा शतक बनाउने सबै विदेशी खेलाडी नै रहेका छन् ।

अविजित १२० रनको सानदार इनिङ्स खेलेका मिशाराले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् । उनले गत सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रनको कीर्तिमान भङ्ग गरेका हुन् ।

यस्तै, मिशारालाई दरिलो साथ दिएका कप्तान रवि बोपाराले पनि अर्धशतकीय पारी खेल्दै ४२ बलमा ५३ रनको महत्त्वपूर्ण योगदान दिए । काठमान्डुका तर्फबाट बलिङमा कप्तान करण केसी र राशिद खानले समान दुई–दुई विकेट हात पारे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु