काठमाडौं – लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको छ।
पारिवारिक स्रोतका अनुसार मंसिर १० गते परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह हुनेछ भने मंसिर १२ गते पार्टीका शीर्ष नेता तथा अन्य आफन्तका लागि प्रीतिभोज आयोजना गरिनेछ।
विवाह समारोहमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने र डीपी अर्याललाई समेत निमन्त्रणा पठाइएको छ। मुकुल र रविबीच विगतमा पार्टीको आन्तरिक विवाद र कारबाहीका विषयमा मतभेद देखिए पनि विवाहमा निमन्त्रणा पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
विवाहको तयारी झापा र विराटनगर दुवै स्थानमा भइरहेको छ। मंसिर १० गते झापाको मंगलबारेस्थित निशाका आफन्तको घरबाट वैवाहिक कार्यक्रम सम्पन्न हुने तय भएको छ भने विराटनगर–३, दूधफारमस्थित मुकुलको निवासमा पनि तयारी सुरु भइसकेको छ।
मुकुल ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन् भने निशा डाँगी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन्। डाँगी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।


