काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे (फ्लडलाइटमा) सुरु हुने यस खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।
लिग चरणका शीर्ष दुई टोलीबीचको यो भिडन्त दुवैका लागि पहिलो प्रयासमै उपाधि नजिक पुग्ने महत्त्वपूर्ण अवसर हो। आज पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने अर्को मौका पाउनेछ।
लुम्बिनीलाई जितको ‘ह्याट्रिक’ गर्ने अवसर, सुदूरपश्चिम बदला लिने दाउमा
तथ्यांक र हालको लयका आधारमा लुम्बिनी लायन्स मनोवैज्ञानिक रूपमा बलियो देखिएको छ । सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्दै ‘ह्याट्रिक’ पूरा गर्ने अवसर लुम्बिनीसामु छ।
यसअघि दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि उचालेको लुम्बिनीले जारी तेस्रो संस्करणको लिग चरणको भेटमा पनि सुदूरपश्चिममाथि ७ विकेटको सहज जित निकालेको थियो।
रोचक पक्ष के छ भने, ती दुवै महत्त्वपूर्ण खेलमा लुम्बिनीको धारिलो बलिङ आक्रमणसामु सुदूरपश्चिम १०० रनको आँकडासमेत पार गर्न नसकी अलआउट भएको थियो। तसर्थ, सुदूरपश्चिम रोयल्स आज विगतका ती नमीठा हारको बदला लिँदै सिधै फाइनल पुग्ने रणनीतिमा मैदान उत्रनेछ।
लिग चरणको प्रदर्शन र अंक तालिका
लिग चरणमा दुवै टोलीले समान ५-५ खेलमा जित हात पारेका थिए। यद्यपि, सुदूरपश्चिम २ खेलमा पराजित हुँदा लुम्बिनीले १ खेलमा मात्र हार बेहोरेको थियो। वर्षाले एक खेल रद्द भएपछि अंक बाँड्दा लुम्बिनीले सुदूरपश्चिमभन्दा १ अंक बढी जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो।
दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको बाहुल्यता रहेकाले कीर्तिपुर मैदानमा आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


