चितवन – द आर्ट अफ लिभिङ चितवनको आयोजनामा सञ्चालित चारदिने एड्भान्स मेडिटेसन कोर्ष सम्पन्न भएको छ । कार्तिक २६ गतेदेखि सुरु भएको उक्त कोर्ष २९ गते तनहुँको देवघाटस्थित श्रीकृष्ण प्रणामी धाममा सम्पन्न भएको हो ।
द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक अच्युतराज गौतमको प्रशिक्षणमा सञ्चालित कार्यक्रममा मनोज श्रेष्ठले सहयोगी प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा श्रीश्री रविशंकरको आवाजमा प्रस्तुत योग, ध्यान, सेवा तथा जीवनशैलीसम्बन्धी ज्ञान र अभ्यासमार्फत जीवनलाई रोगमुक्त, ध्यानयुक्त र सेवामुखी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
कोर्षमा पूर्वको झापा, उर्लाबारी, पश्चिमको बुटवल, चितवन र काठमाडौंलगायतका स्थानबाट आएका १० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । सहभागीमध्ये केहीले पहिलो पटक, केहीले दोस्रो पटक तथा केहीले १० पटकभन्दा बढी एड्भान्स मेडिटेसन कोर्ष पूरा गरिसकेको बताएका थिए ।
दैनिक भागदौड, कामधन्दा र सांसारिक गतिविधिका कारण अस्तव्यस्त बनेको जीवनलाई पुनः लयमा फर्काउन यस कोर्षले महत्वपूर्ण सहयोग गर्ने प्रशिक्षार्थी बाबु बरालले बताए । परिवारका पाँच सदस्यसहित कार्यक्रममा सहभागी भएका बरालले कोर्षले मानसिक शान्ति र जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने अनुभव सुनाए ।
करिब दुई दशकदेखि द आर्ट अफ लिभिङमा प्रशिक्षकका रूपमा सक्रिय वरिष्ठ प्रशिक्षक गौतमले श्रीश्री रविशंकरद्वारा प्रदान गरिने योग, ध्यान र सेवासम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न सके जीवनका दुःख र तनावबाट मुक्त हुन सकिने बताए ।
श्रीश्री रविशंकरद्वारा प्रतिपादित द आर्ट अफ लिभिङअन्तर्गतको यस एड्भान्स मेडिटेसन कोर्षमा सहभागी हुनुअघि प्रशिक्षार्थीले अनिवार्य रूपमा ‘ह्याप्पिनेस’ कोर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
कार्यक्रमको समापन समारोहमा द आर्ट अफ लिभिङ चितवनका संयोजक भोजबहादुर खड्का, डीसीसी सदस्य सुनिता पिया तथा अर्जुनजी शर्मा लगायतको उपस्थिति रहेको थियो ।


