काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगर किंग्सले साविक विजेता लुम्बिनी लायन्ससामु १६७ रनको विजयलक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रनको योगफल तयार पारेको हो।
विराटनगरका लागि चरिथ असलंकाले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए।
यसैगरी, शुभम रन्जानेले २४ बल खेल्दै ४ चौकाको सहयोगमा अविजित ३१ रन बनाए। ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट हुँदा अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे।
टोलीका लागि शेहान जयासूर्याले १ रन र इसुरु उडानाने ६ रन बनाए भने बसिर अहमद ६ रनमा अविजित रहे। विराटनगर ७० रनको अवस्थामा हुँदा ओपनर शेख रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका असलंका र रन्जानेबीच ७५ रनको उत्कृष्ट साझेदारी भएको थियो।
लुम्बिनीका तर्फबाट बलिङतर्फ किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले १–१ विकेट हात पारे। किफायती बलिङ गरेका किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिए भने अभिषेकले ३ ओभरमा १५ रन दिएर १ विकेट लिए।
ट्रम्पलम्यान भने महँगा साबित हुँदै ४ ओभरमा ५२ रन खर्चिन पुगे। प्लेअफ सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै पहिलो क्वालिफायर खेल सुरक्षित गर्ने योजनामा रहेको छ।


