मकवानपुरको भीमफेदीमा यात्रुबाहक ईभी ५०० मिटर तल खस्यो, उद्धार कार्य जारी

एटुजेड समाचार

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा आज बिहान एक यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटनाग्रस्त भएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी आज बिहान करिब पौने ६ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटना भएको गाडीमा चालकसहित करिब १३ देखि १४ जना यात्रुहरू सवार रहेका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षा निकायका विभिन्न टोलीहरू तत्परताका साथ घटनास्थलमा पुगेर युद्धस्तरमा उद्धार कार्य अगाडि बढाइएको छ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङबाट १० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

त्यसैगरी, सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली पनि घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेका छन्।

दुर्घटनाग्रस्त गाडी सडकबाट निकै तल भीरमा खसेका कारण उद्धार कार्यमा केही कठिनाइ भए पनि हाल उद्धार र खोजी कार्य निरन्तर जारी रहेको छ। घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण तथ्यांक भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु