ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

एटुजेड समाचार

चितवन – सहरीकरण र सवारीसाधनको बढ्दो चापसँगै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सवारी पार्किङलाई व्यवस्थित गर्न चितवनको भरतपुरमा नियमितजसो ट्राफिक सचेतनाका कार्यक्रम संचालन भइरहेका छन्।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित भरतपुरको चोबिसकोटीमा आज बिहान ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

भरतपुर महानगरपालिकाको आयोजना, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको प्राविधिक सहयोग तथा दर्शन मिडियाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, ट्राफिक प्रहरी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा अध्यक्ष खनालले ट्राफिक व्यवस्थापन सरकार वा प्रहरीको मात्रै जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले महानगरपालिकाले सहरको ट्राफिक व्यवस्थापन, सडक पूर्वाधार सुधार तथा व्यवस्थित पार्किङका लागि गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो।

उहाँले सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिका, ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक संकेत, ट्राफिक लाइटको प्रयोग, सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन तथा पार्किङ व्यवस्थापनका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो।

ट्राफिक नियमको सामान्य बेवास्ताले समेत दुर्घटना निम्त्याउन सक्ने भएकाले सडक प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउने उद्देश्यले चितवन माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयका स्वयंसेवक विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो।

विद्यार्थीहरूले ट्राफिक स्वयंसेवकका रूपमा सडक प्रयोगकर्ता र सर्वसाधारणलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगबारे सचेत गराउन सहयोग गरेका थिए। स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

भरतपुरका बिभिन्न ६ स्थानमा ट्राफिक लाइट जडान भइ परिक्षणको क्रममा रहेको समयमा ट्राफिक लाइट र अन्य नियमबारे जानकारी गराउन सडकमै कार्यक्रम आयोजना गरिनु सकारात्मक विषय भएको सडक प्रयोगकर्ताको प्रतिक्रिया छ।

भरतपुर महानगरले विधार्थी, सडक प्रयोगकर्ता, व्यवसायी र आम नागरिकलाई ट्राफिक नियमबारे जानकारी गराइ दुर्घटना न्यूनिकरण गर्नुको साथै बजार अझै व्यवस्थित गराउने अभियान संचालन गरिरहेको भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखामा कार्यरत बरिष्ठ शाखा अधिकृत सारदा शर्माले जानकारी दिनुभयो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु