चितवन – चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोलानजिक निउरो टिप्न गएका ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो । घटनापछि खोजीका क्रममा शव फेला परेको छ भने आक्रमणमा संलग्न बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ ।
हिजो मंगलबार दिउँसो करिब २ बजे चार जना साथीसँगै निउरो टिप्न गएका भरतपुर–२७ का स्थानीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।घटनाबारे सोही दिन साँझ ५ बजेर ४५ मिनेटमा इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराइएको थियो ।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीय बासिन्दा तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो ।खोजीका क्रममा आज बिहान १० बजेर ५५ मिनेटमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट अर्थात् बेहोस बनाएर नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ । वन क्षेत्रमा निउरो टिप्न वा अन्य कामका लागि जाँदा वन्यजन्तुको जोखिमप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।


