काठमाडौँ – सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने हल्ला पूर्णतः भ्रामक र निराधार रहेको दाबी गरेको छ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीभित्रको आन्तरिक सूचना चुहावटको विषयलाई लिएर बाहिर गलत हल्ला फैलिएको बताए ।
प्रवक्ता पोखरेलले प्रहरी संगठनभित्रको आन्तरिक र संवेदनशील सूचनाहरू चुहावट भएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरेको प्रस्ट पारे । ‘प्रधानमन्त्रीज्यूले आईजीपीको राजीनामा माग्नुभयो वा कारबाही गर्न लाग्नुभयो भन्ने कुरा हुँदै नभएको र भ्रामक सूचना हो,’ उनले भने, ‘यो सूचना कहाँबाट कसरी चुहावट भयो भनेर प्रहरीले गरेको सामान्य आन्तरिक सोधपुछ मात्र हो।’


