काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्म प्राप्त भएको पुस्तकालय अनुदान बापतको रकम विद्यालयका पदाधिकारी तथा कर्मचारीले गैरकानुनी रूपमा ुसापटीु भन्दै लिएर फिर्ता नगरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।
उनीहरूले आपसी मिलेमतोमा सरकारी तथा सार्वजनिक संस्थालाई हानि पुर्याउने बदनियतले उक्त रकम बाँडीचुँडी लिएर १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी भ्रष्टाचार गर्नेमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र जैसी, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंह रहेका छन् । उनीहरू तीनै जनाविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
यसैगरी, सोही कसुरमा संलग्न विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य जनकबहादुर नेपालीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ । अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद सजाय, बिगो बमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी लिएको छ ।
पुस्तकालय जस्तो शैक्षिक प्रयोजनका लागि आएको अनुदान रकम व्यक्तिगत रूपमा प्रयोग गरी सरकारी सम्पत्तिमा हानि नोक्सानी पुर्याएको पुष्टि भएपछि उनीहरूलाई कानुनबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


