चितवन – रानी केकले चितवनको भरतपुर महानगरपालिका–१०, स्याउलीबजार चोकमा आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको छ। बुधबार कात्तिक ११ गते उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीको प्रमुख आतिथ्यतामा नयाँ शाखाको उद्घाटन गरिएको हो।
२०७८ साल फागुन २६ गते स्थापना भएको रानी केकले केक तथा बेकरीका परिकारलाई प्राथमिकतामा राख्दै ग्राहकलाई ताजा, स्वादिलो र गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ। संस्थाले दाङको तुलसीपुर र घोराही, रूपन्देहीको मणिग्राम, बाँकेको नेपालगञ्ज, सुर्खेत र चितवनको भरतपुरमा गरी ६ वटा शाखामार्फत सेवा विस्तार गरेको जनाएको छ।
रानी केकका संस्थापक अध्यक्ष दीपक काफ्ले हुन् भने चितवन शाखाका सञ्चालक यादव काफ्ले र निरज काफ्ले रहेका छन्। संस्थाका अनुसार हाल छवटै शाखामा ७२ जना कर्मचारी कार्यरत छन्। चितवन शाखामा मात्रै सात जनाले रोजगारी पाएका छन्।
उद्घाटनको अवसरमा निःशुल्क केक
रानी केकले नयाँ शाखा उद्घाटनको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत कात्तिक ११ देखि १६ गतेसम्म जन्मदिन पर्ने भरतपुरवासीलाई उद्घाटन अवधिभर निःशुल्क केक उपलब्ध गराइने संस्थाले जनाएको छ।
ग्राहकको माग र रुचिअनुसार विभिन्न स्वादका केक तयार गर्दै आएको रानी केकले बेकरीका विभिन्न परिकारसमेत उपलब्ध गराउँदै आएको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै संस्थाले आफ्ना शाखा रहेका जिल्लाहरूमा केक अर्डर गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।
युवा उद्यमशीलता र रोजगारीमा जोड
रानी केकले केक तथा बेकरी उत्पादन र बिक्रीसँगै युवा सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनलाई पनि प्राथमिकता दिएको जनाएको छ।
संस्थाअन्तर्गत सञ्चालित रानी स्किल्समार्फत बारिस्ता तथा बेकरीसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ। यस्ता तालिमले युवालाई व्यावहारिक सीप हासिल गर्न, रोजगारी प्राप्त गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याउने संस्थाको अपेक्षा छ।
त्यसैगरी, संस्थासँग सम्बन्धित खुसी संसारमार्फत बेकरी तथा कफी उत्पादनसम्बन्धी गतिविधि सञ्चालन हुँदै आएको छ। यी गतिविधिसँग सम्बन्धित क्षेत्रमा सयौँ युवाले रोजगारी पाएको संस्थाले जनाएको छ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
रानी केकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिँदै आएको जनाएको छ। संस्थाले ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अनाथ व्यक्ति तथा सामाजिक कार्यक्रममा आवश्यकताअनुसार निःशुल्क केक सहयोग गर्दै आएको छ।
संस्थापक अध्यक्ष दीपक काफ्ले युवा रोजगारी, उद्यमशीलता प्रवर्द्धन र सामाजिक कार्यलाई व्यावसायिक विकाससँग जोडेर अघि बढिरहेको संस्थाले जनाएको छ। काफ्ले अनलाइनखबरबाट ४० वर्षमुनिका उत्कृष्ट युवामध्ये सम्मानितसमेत भएका थिए।
देशका अन्य सहरमा पनि शाखा विस्तार गर्ने योजना
रानी केकले आगामी दिनमा बर्दिया, भैरहवा, पोखरालगायत देशका अन्य सहरमा शाखा विस्तार गर्ने योजना बनाएको छ। शाखा विस्तारमार्फत गुणस्तरीय केक तथा बेकरी उत्पादनको पहुँच बढाउने, थप रोजगारी सिर्जना गर्ने र युवालाई उद्यमशीलतामा प्रोत्साहित गर्ने लक्ष्य संस्थाले लिएको छ।
चितवनमा नयाँ शाखा सञ्चालनमा आएसँगै स्थानीय ग्राहकले पनि रानी केकका उत्पादन तथा सेवा प्राप्त गर्न सक्नेछन्। नयाँ शाखामार्फत ग्राहकको विश्वास जित्दै सेवा विस्तारलाई निरन्तरता दिने संस्थाले जनाएको छ।


