भरतपुर — चितवनको मौलिक कला, संस्कृति र नेवारी परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–६ मा आगामी कात्तिक १४ र १५ गते ‘जिल्ला स्तरीय परम्परागत लाखे नाच प्रतियोगिता तथा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ।
नेवा: देय दबू भरतपुर महानगरपालिका–६ वडा समितिको आयोजना तथा भिमेश्वर गुठी र आन्तरिक सेवा सहयोगी गुठीको सह–आयोजनामा कार्यक्रम भरतपुर–६ स्थित सिद्धेश्वर खेल मैदानमा दुई दिनसम्म सञ्चालन हुनेछ।
नेवारी समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको लाखे नाचको संरक्षण, पुस्तान्तरण र प्रवर्द्धन गर्नुका साथै चितवनको सांस्कृतिक पर्यटनलाई टेवा पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा भरतपुर महानगरपालिकासहित चितवन जिल्लाका विभिन्न क्षेत्रका लाखे नाच समूहहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार प्रथम हुने समूहले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सान्त्वना स्थान हासिल गर्ने समूहलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
लाखे नाच प्रतियोगितासँगै आयोजना हुने फुड फेस्टिभलमा नेवारी परिकार तथा स्थानीय खानाका विविध स्वादको प्रवर्द्धन गरिने अपेक्षा गरिएको छ। सांस्कृतिक कार्यक्रम र परम्परागत खानालाई एउटै उत्सवमा जोडेर स्थानीय कला, संस्कृति, पर्यटन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने आयोजकको लक्ष्य छ।
नेवा: देय दबू भरतपुर–६ का अध्यक्ष राजनकुमार श्रेष्ठले लाखे नाच नेवारी समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए। उनले प्रतियोगितामार्फत मौलिक संस्कृति जोगाउने, नयाँ पुस्तालाई परम्परासँग जोड्ने र जिल्लाको सांस्कृतिक गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्य राखिएको बताए।
त्यस्तै, समितिका सचिव अरुण श्रेष्ठले कार्यक्रम सफल बनाउन स्थानीय संघसंस्था, व्यवसायी तथा समुदायका सबै पक्षको सहयोग महत्त्वपूर्ण हुने बताए। उनले प्रतियोगिता तथा फुड फेस्टिभलमा सहभागी भई मौलिक कला, संस्कृति र परम्पराको संरक्षण अभियानमा साथ दिन सबैलाई आग्रह गरे।
कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले सहयोगी संस्था, व्यवसायी, स्थानीय समुदाय तथा संस्कृतिप्रेमीहरूलाई आर्थिक तथा अन्य आवश्यक सहयोगका लागि आह्वानसमेत गरेको छ।
लाखे नाच प्रतियोगिता तथा फुड फेस्टिभलले चितवनको सांस्कृतिक विविधता उजागर गर्नुका साथै नेवारी कला, परम्परागत नाच र खानाको पहिचानलाई व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


