बाढीपहिरोले देशका प्रमुख सडक प्रभावित, कतै एकतर्फी त कतै पूर्ण अवरुद्ध

एटुजेड समाचार

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक ६ गते बिहान ७ बजेसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार म्याग्दी, गोरखा र सुर्खेतका प्रमुख सडकहरू प्रभावित भएका छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा आएको छ। त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको पहिरोका कारण कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।

यसैगरी बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ स्थित सोतिमा रहेको फलामे पुल र गोरखा–आरुघाट–धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकाको नयाँपुल क्षेत्रमा भने साना सवारी साधन मात्र आवतजावत गर्न सक्ने गरी बाटो सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन र पहिरो पन्छाउने कार्य जारी रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु