मङ्गलबारदेखि वर्षाको सम्भावना, त्रसित नहुन मौसम विभागको आग्रह

एटुजेड समाचार

काठमाडौं। नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे।

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन्। मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ।”

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन। “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछाैँ। मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ”, उनले भने।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु