निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

एटुजेड समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिने छ ।निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिको चहलपहल बढी हुने हुँदा चोरीसिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिसहित उच्च सतर्कता अपनाइएको हो ।

उनले भने, “अहिले संवेदनशील क्षेत्रहरूमा ३५ वटा ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।” चोरीसिकारीका हिसाबले जोखिम रहेका क्षेत्रमा स्पाई क्यामेरासहित क्याम्पिङ एन्ड एम्बुसिङलगायतका काम गरिने उनले जानकारी दिए ।सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्तीका साथै स्विपिङ, पेट्रोलिङ, साइकल गस्ती, मोटरसाइकल गस्ती, डुङ्गा, गाडी र हात्तीबाट गस्ती गरिने छ ।

चाडपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन व्यस्त हुने भएकाले चोरीसिकारीको जोखिम बढी रहने गरेको छ । संवेदनशील क्षेत्रमा ‘लिङ्क पेट्रोलिङ’ लगायतका काम भइरहेका छन् । चुरे क्षेत्रमा समेत चोरीसिकारी हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।

निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी र तीन अस्थायी पोस्टबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझ चुस्त बनाउँदै स्थानीयसँगको साझेदारीमा निकुञ्जको सुरक्षा गरिने छ । शङ्कास्पद स्थानमा तालिमप्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरेर निकुञ्ज क्षेत्रका बस्तीमा पनि सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु