ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ।
सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो। भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ।
समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो। भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ। अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो।


