चितवन – विजया दशमीको अवसरमा लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालले भरतपुर महानगरपालिका–७, कृष्णपुर टाइगर चोक नजिकका सात विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई खाद्यान्न सामग्री तथा लत्ताकपडा वितरण गरेको छ।
लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन प्रभाकर पण्डित, डिस्ट्रिक्ट सेक्रेटरी लायन पूर्ण शर्मा तथा डिस्ट्रिक्ट फाइनान्सियल एडभाइजर लायन विकास पौडेलको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा टोल अध्यक्ष बसन्त खरेल तथा सामाजिक व्यक्तित्व भबराज भट्टको समेत उपस्थिति रहेको थियो।
विजया दशमीको खुसी विपन्न परिवारसम्म पुर्याउने, आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने तथा समाजमा मानवता, आपसी सद्भाव र सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
चाडपर्वका बेला विपन्न तथा असहाय परिवारलाई सहयोग गरी उनीहरूको मुहारमा खुसी ल्याउने र सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले गरिएको यस कार्यले मानवीय सेवा र सामाजिक सहकार्यको महत्त्वलाई उजागर गरेको छ।
लायन्स क्लबले ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै समाजमा सेवामूलक तथा मानवीय कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस्ता कार्यक्रमले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै विपन्न परिवारलाई चाडपर्व मनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजया दशमीको शुभकामना व्यक्त गर्दै मानवता, सहयोग र सेवाभावलाई निरन्तर अघि बढाउने सन्देशसमेत दिइएको छ।


