आँखा पाक्ने रोगको संक्रमण हुन नदिन अपनाउनुहोस् यी उपाय

एटुजेड समाचार

नेपालका विभिन्न जिल्लाहरूमा हाल भाइरल कन्जंक्टिभाइटिस अर्थात् ‘आँखा पाक्ने रोग’ को सङ्क्रमण देखिन थालेकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

यो रोग लागेमा आँखा रातो हुने, चिलाउने, लगातार आँसु बग्ने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो भएर सुन्निने, आँखा बिझाउने वा दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिने गर्दछन्।

आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसको रोकथामका लागि विशेष सजगता अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

​यस रोगबाट बच्नका लागि सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, भिडभाडमा ननिस्कने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ। त्यसैगरी, जथाभावी आँखा नछुने र छुनु परेमा छुनुअघि वा छोइसकेपछि साबुनपानीले मिचिमिचि राम्रोसँग हात धुनुपर्ने हुन्छ।

सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना जस्ता व्यक्तिगत सामानहरू अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने र तिनलाई दैनिक धुने वा सफा गर्नाले रोगको प्रसार रोक्न सकिन्छ। बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्नुका साथै आँखा सेक्नु परेमा बन्द गरेर वा सफा रुमालमा बरफ राखेर मात्र सेक्नुपर्छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार भाइरल कन्जंक्टिभाइटिस भएमा आत्तिनु पर्दैन, किनभने उचित घरमै स्याहार गरेमा यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ।

यस अवधिमा प्रशस्त मात्रामा पानी पिउनु र पोषिलो खाना खानु उपयुक्त हुन्छ। तर, स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधिको प्रयोग नगर्न र यदि दृष्टि कम हुने लगायतका गम्भीर समस्याहरू देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु