नागढुंगा–मुग्लिन सडक छेउका होटलको वर्गीकरण

एटुजेड समाचार

काठमाडौँ – राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई गुणस्तरहीन खाना खुवाउने र चर्को मूल्य असुल्ने गरेको व्यापक जनगुनासो आएपछि सरकारले राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टहरूको स्तरीकरण (लोगो वितरण) गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको विवरण अनुसार मुग्लिन, दासढुङ्गा, जुगेडी र रामनगर क्षेत्रका १७ वटा होटल तथा रेस्टुरेन्टको अनुगमन तथा स्तरीकरण गरिएको हो । जसमध्ये मुग्लिनस्थित ‘दाल भात पावर’ मात्रै तीन तारासहितको हरियो स्टिकर पाएर ‘अति उत्तम’ वर्गमा पर्न सफल भएको छ भने अधिकांश अर्थात् १० वटा होटल न्यूनतम मापदण्ड पूरा गरी ‘सामान्य’ (घ वर्ग)मा समेटिएका छन् ।

सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने होटलहरूमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्केको र अत्यधिक मूल्य लिने गरेको जनगुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

विभागले खाद्य स्वच्छता, भान्साको अवस्था, व्यक्तिगत सरसफाइ र भण्डारणको आधारमा होटलहरूलाई चार तहमा वर्गीकरण गरी लोगो प्रदान गरेको छ ।

विभागले होटलको बाहिरी भाग वा प्रवेशद्वारमै देखिने गरी वर्गीकरण अनुसारको स्टिकर टाँस गरेको छ । यात्रुहरूलाई आफू प्रवेश गर्ने होटलको लोगो (हरियो तीन तारा, दुई तारा, एक तारा वा पहेँलो स्टिकर) हेरेर मात्र खाना तथा खाजा खान र अखाद्य वा गुणस्तरहीन खानेकुरा फेला परेमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु