विदेशबाट फर्किएर चितवनमा दिनेश पण्डितले खोले ‘मोबाइल चौतारी’

चितवन – चितवनको भरतपुर महानगरपालिका–१०, हाकिमचोकस्थित मालिका मन्दिरबाट क्यान्सर अस्पताल जाने बाटोमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा आएको छ। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर आइतबारदेखि पसल सञ्चालनमा ल्याइएको हो।

मोबाइल चौतारीका प्रोप्राइटर दिनेश पण्डितले व्यापार गर्ने उद्देश्यसँगै स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन पसल सञ्चालनमा ल्याएको बताए। पछिल्लो समय हजारौं युवा रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला आफूजस्ता युवाले नेपालमै बसेर केही गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘हामीजस्ता युवाहरू नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ व्यवसाय सुरु गरेका हौं। यसमा सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु,’ पण्डितले भने।

उनका अनुसार मोबाइल चौतारीमा बजारमा उपलब्ध विभिन्न मोबाइल तथा मोबाइलसँग सम्बन्धित सामग्री पाइनेछन्। यसले ग्राहकलाई आवश्यक सामान खरिद गर्न बजारका अन्य स्थानमा धाउनुपर्ने बाध्यता कम गर्ने उनले विश्वास व्यक्त गरे। साथै, पसल उद्घाटनको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक स्किमसमेत राखिएको उनले जानकारी दिए।

पसलको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी शर्मा, मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महाप्रसाद सिलवाल र चितवन मोबाइल व्यवसाय संघका अध्यक्ष हरि भट्टलगायतले रिबन काटेर संयुक्त रूपमा गरेका थिए।

पण्डितले दुई वर्ष विदेशमा सुरक्षा गार्डका रूपमा काम गरेका थिए। त्यसपछि उनले पछिल्लो सात–आठ वर्ष विभिन्न मोबाइल पसलमा काम गर्दै अनुभव बटुलेका थिए। लामो समयको अनुभवपछि उनले अहिले आफ्नै व्यवसाय सुरु गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी शर्माले वर्तमान समयमा व्यापार व्यवसाय सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि नयाँ व्यवसाय सुरु गर्ने पण्डितको प्रयासको प्रशंसा गरे। उनले मोबाइल चौतारीको सफलताको शुभकामना दिँदै व्यवसायलाई निरन्तर अगाडि बढाउन आग्रह गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु