काठमाडौँ – जेनजी अभियन्ता मिराज ढुङ्गानाले रवि लामिछाने र बालेन शाहलाई राजनीतिक विकल्पका रूपमा अघि सार्दा मुलुकमा फेरि विद्रोह दोहोरिन सक्ने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै ढुङ्गानाले नयाँ अनुहार आए पनि राजनीतिक आचरण पुरानै रहेको टिप्पणी गरेका हुन्।
‘५ जना अनुहार फेरिए, कांग्रेस फेरियो रे। ३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनुपर्ने रे,’ उनले लेखेका छन्।ढुङ्गानाले कांग्रेससहित रवि–बालेनलाई उस्तै प्रकृतिका ‘नयाँ’ राजनीतिक शक्तिका रूपमा चित्रण गर्दै उनीहरूको राजनीतिक आचरणमा खासै भिन्नता नरहेको दाबी गरेका छन्। उनका अनुसार नयाँ आवरणमा पुरानै राजनीतिक प्रवृत्ति दोहोरिएको छ।
उनले २०८२ भदौको जेनजी विद्रोहले नेपाली समाजमा चरम बन्दै गएको निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको उल्लेख गर्दै पुनः नयाँ आवरणमा प्रस्तुत भएका पुराना दलहरूबाट त्यो अपेक्षा पूरा हुन नसक्ने बताएका छन्।‘यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ,’ ढुङ्गानाले स्ट्याटसमा लेखेका छन्। उनले वर्तमान राजनीतिक निराशाको समाधान र राजनीतिक पुनर्गठनका लागि पुराना तथा अहिले चर्चामा रहेका शक्तिभन्दा अलग तेस्रो राजनीतिक ध्रुवको आवश्यकता औँल्याएका छन्।


